गठबन्धन भत्किँदैन : साउद

NP_saud
लोकपाटी न्यूज
6 Shares

कञ्चनपुर। कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का लोकतान्त्रिक-वाम गठबन्धनका प्रतिनिधिसभाका विजयी उम्मेदवार नारायणप्रकाश साउदले जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्ने बताएका छन्।

आज शुक्लाफाँटा नगरपालिका-१० झलारीमा आयोजित विजयी जुलुसलाई सम्बोधन गर्दै उनले निर्वाचनका क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने बताए। गठबन्धनको सरकार निरन्तर जारी रहने उल्लेख गर्दै उनले देश विकासको गतिमा अगाडि बढ्ने बताए। ‘गठबन्धन भत्किँदैन,’ उनले भने, ‘विकासका लागि सरकारको स्थायित्व आवश्यक हुन्छ, त्यसका लागि गठबन्धन आवश्यक छ।’

नेपाली काँग्रेसको नेतृत्वमा बन्ने सरकार पाँच वर्ष काम गर्ने उनले बताए। ‘जनताका धेरै अपेक्षा छन्, सबै अपेक्षा पूरा गर्नका लागि सक्दो पहल गछौं,’ उनले भने, ‘यसका लागि सबैको साथ र सहयोग आवश्यक छ।’ चुनावका बेला जनतासँग गरेको संकल्प पूरा गर्ने नेपाली काँग्रेसका प्रदेशसभाका विजयी उम्मेदवार बहादुरसिंह थापाले बताए। ‘जनताले विकास चाहेका छन्, युवाले रोजगारी मागेका छन्,’ उनले भने, ‘जनताका माग पूरा गर्नका लागि प्रतिबद्धता व्यक्त गर्दछु।’

नेकपा (माओवादी केन्द्र)का प्रदेशसभाका विजयी उम्मेदवार ओमविक्रम भाटले मतदातासँग गरेका वाचा पूरा गर्ने बताए। प्रतिबद्धतापत्रमा उल्लेख गरेका कुरा अक्षरशः पूरा गर्ने उनको भनाइ थियो। निर्वाचन क्षेत्र नं २ का विजयी उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयबाट विजयी जुलुस निकालेर लोकतान्त्रिक-वाम गठबन्धनको कार्यकालमा पुगेर समापन गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्