काँग्रेस नेता डा. भण्डारीको दोस्रो संसद यात्रा

chandra-bhandari
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली काँग्रेस पार्टीमा बौद्धिक नेताको छवि बनाएका नेता डा चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने भएका छन्। उनी गुल्मी-१ बाट नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

कूल ६९ हजार छ सय ८३ मत खसेकामा भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गरे भने प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गरे। आज दिउँसो १ बजे सकिएको मतगणनापछि छन्।

पिता ईश्वरीप्रसाद र माता हरिकला भण्डारीको कोखबाट गुल्मीको हुँदा ७ मा २०१८ मा जन्मिएका उनले स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन्। काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका भण्डारी संघकै महामन्त्री भएका थिए।

त्रिभुवन विश्वविद्यालयबाट उनले चार वर्षअघि समाजशास्त्रअन्तर्गत ‘राष्ट्र निर्माणमा भूमण्डलीकरणको प्रभाव’ विषयमा विद्यावारिधि गरेका हुन्। राजनीतिक यात्राका क्रममा नेता भण्डारीले पाँच वर्षभन्दा बढी जेल जीवन बिताए। यसअघि उनी २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। काँग्रेसको १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेता भण्डारी पार्टीको १४औँ महाधिवेशनमा उपसभापतिको उम्मेदवार हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्