निर्वाचन नतिजा : मधेश प्रदेशमा संघतर्फ क-कसले निकाले जित ?

Election_Dal
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २२ स्थानको नतिजा सार्वजनिक भएको छ। अब प्रदेशका विभिन्न जिल्लाका १० प्रतिनिधिसभा निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ।

निर्वाचन आयोगले आज साँझ ५ः३० बजेसम्म सार्वजनिक गरेको परिणामअनुसार सबैभन्दा बढी नेकपा (एमाले) ले छ स्थानमा जितेको छ। यसैगरी नेपाली काँग्रेसले पाँच, जनता समाजवादी पार्टी (जसपा) ले चार, लोसपाले दुई, एकीकृत समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्रले तीन स्थानमा जित निकालेको छ। एमालेका उम्मेदवार छ स्थानमा निर्वाचित भएका छन्।

सिरहा-१ मा रामशङ्कर यादव, धनुषा-३ मा जुली महतो (महासेठ), सर्लाही-३ मा हरिप्रसाद उप्रेती, बारा-१ मा अच्युतप्रसाद मैनाली, पर्सा-३ मा राजकुमार गुप्ता र सिरहा-३ मा लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन्।

त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार सप्तरी-३ मा दिनेशकुमार यादव, धनुषा-२ मा रामकृष्ण यादव, रौतहट-४ मा देवप्रसाद तिमलसेना, पर्सा-२ मा अजयकुमार चौरसिया र पर्सा-४ मा रमेश रिजाल निर्वाचित हुनुभएको छ। काँग्रेस उम्मेदवार सप्तरी-४, धनुषा-४ र महोत्तरी-४ मा अगाडि छन्।

जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सप्तरी-१ मा नवलकिशोर साह, सिरहा-४ मा डा वीरेन्द्रप्रसाद महतो, सिरहा-४ मा वीरेन्द्रप्रसाद महतो र पर्सा-१ मा प्रदीप यादव निर्वाचित हुनुभएको छ। सिरहा-२ र धनुषा-१ मा जसपा उम्मेदवार अगाडि छन्।

नेकपा(माओवादी केन्द्र)का उम्मेदवार महोत्तरी-१, सर्लाही-२ र बारा-२ मा गरी तीन स्थानमा अगाडि छन्। लोकतान्त्रिक समाजवादीका उम्मेदवार महोत्तरी-२ मा शरदसिंह भण्डारी र सर्लाही-१ मा रामप्रकाश चौधरी निर्वाचित भएका छन्। महोत्तरी-३ लोसपा अध्यक्ष महन्थ ठाकुर अगाडि छन्।

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल रौतहट-१ बाट विजयी भएका छन्। बारा-४ मा कृष्णकुमार श्रेष्ठ अगाडि छन्। जनमत पार्टीका अध्यक्ष डा सिके राउत सप्तरी-२ बाट निर्वाचित भएका छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवारमध्ये सर्लाही-४ मा अमरेशकुमार सिंह, रौतहट-२ मा किरणकुमार साह र रौतहट-३ मा प्रभु साह विजयी भएका छन्।

निर्वाचन आयोगको तथ्यांकअनुसार मधेस प्रदेशका आठ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि एक हजार पाँच सय ९८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। प्रतिनिधिसभातर्फको ३२ सिटका लागि विभिन्न दलका दुई सय ९३ र स्वतन्त्र दुई ९७ गरी पाँच ९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।