म्याङ्लुङ। तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसकी उम्मेदवार सीता गुरुङ विजयी भएकी छन्। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा गुरुङले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजय सुब्बालाई पराजित गरेकी हुन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार विजयी भएकी काँग्रेसकी गुरुङले १९ हजार सात सय दुई मत प्राप्त गरिन्। एमालेका उम्मेदवार सुब्बाले १८ हजार छ सय २३ मत ल्याइन्। दुवै जनाबीच एक हजार ७९ मतान्तर रहेको छ।
यसअघि गुरुङ २०७४ सालको निर्वाचनमा स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतान्तरले पराजित भएकी थिइन्। गुरुङ दोस्रो प्रयासमा विजयी भएकी हुन्। खापुङले भने यस पटक टिकट पाएनन्।
एमाले उम्मेदवार सुब्बा २०४८ र २०५६ सालको निर्वाचनमा निर्वाचित भएका थिए। विसं २०७४ सालको स्थानीय तह चुनावमा पाँच पालिका जितेको एमालेले गत वैशाखमा सम्पन्न पालिका चुनावमा भने तीन पालिका मात्रै जितेको छ। कुल ७१ हजार नौ सय ३३ मतदाता रहेका जिल्लामा ४१ हजार एक सय ८० जनाले मतदान गरेका थिए।