आफन्तले बुझे चेतनको शव

pic death
लोकपाटी न्यूज
6 Shares

राजेन्द्र बिक/ बाजुरा,१२मंसिर। प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन मंसिर-४गते का दिन कुटपिट पछि हत्या गरिएका विद्यार्थी नेता चेतन अयडीको सातादिन पछि दाह संस्कार गरिएको छ। हत्यारा पक्राउ नगरेसम्म शव नबुझ्ने अडानमा रहेका आफन्तले सातादिन पछि शव बुझेर दाहसंस्कार गरेका हुन्।

अयडीको मंसिर ४ गते साँझ हत्या गरिएको थियो। कुटपिट पछि गम्भीर घाइते अयडीलाई बयालगडा अस्पताल अछाम लैजादै गर्दा बीच बाटोमै मृत्यु भएको थियो। पोष्टमार्टम गरिएपनि शव बुझ्न आफन्तले मानेका थिएनन्। प्रहरी प्रशासनले पक्राउको ग्यारेन्टी र कारवाही प्रक्रिया अघि बढाइ सकेको र क्षतिपूर्तिका लागि निर्णायक पहल सुरु गरेपछि आफन्तले शव बुझेर दाहसंस्कार गर्न लागेका हुन्। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय राजनीतिमा सक्रिय चेतन अयडीको दाहसंस्कार गरिएको छ।

विद्यार्थी राजनीतिको भविष्य बोकेको युवाको अन्त्यष्टी गरिएको नेकपा एमाले बाजुराका कार्यालय सचिव काशी विकले बताए। अयडीको शवलाई श्रद्धाञ्जलीका लागि १० देखि ११ बजेसम्म खुला मञ्च मार्तडीमा राखिएको थियो। श्रद्धाञ्जली सभा पछि मार्तडीदेखि मौरेसम्म शव यात्रा गरिएको छ। मार्तडीदेखि करिब ३० किलोमिटर शव यात्रापछि पवित्र धाम मौरेमा दाहसंस्कार गरिने आफन्तले बताएका छन्।हजारौंको संख्यामा सर्वसाधारणको उपस्थितिमा शव यात्रा गरिएको छ। श्रद्धाञ्जली सभा र शव यात्रामा सिंगो एमाले पार्टी कमिटीका नेता लगायत अरु दलहरुका नेता कार्यकर्ताको सहभागी रहेको थियो।

दर्जनौ गाडी र मोटरसाइकल बीचमा गरिएको शव यात्रामा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश शाह, दयाल बहादुर शाही, सहदेव बोगटी जिल्ला अध्यक्ष कालीबहादुर शाही, नेताहरु बसुन्धरा रोकाया, लालबहादुर ओली, पार्टी जिल्ला कमिटीका उपाध्यक्ष सचिव उपसचिव सहीत सबै जनसंगठनका नेता कार्यकर्ता सहभागि भएका थिए। मंसिर ४ गते भएको संघ र प्रदेश सभा निर्वाचनको दिन बुथ कब्जा गर्न रोकेको आरोप सहीत स्थानीय काँग्रेस कार्यकर्ताले कुटीकुटी हत्या गरेको उनका आफन्तको आरोप छ।

सोही दिनको बुथ केन्द्रमा भएको झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका सन्जीव अयडीको भने आफन्तले यस अघि नै दाहसंस्कार गरिसकेका छन्।चेतन अयडीको हत्याको आशंकामा आफन्तका तर्फबाट २२ जनाको नाममा कर्तव्य ज्यान मुद्दामा किटानी उजुरी दिइएको छ। उजुरी दिएका मध्ये २ जना पक्राउ परेका छन्। बाँकीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। शवको दाहसंस्कार गरेपनि हत्यारा पक्राउ र कब्जा गरिएका १६ वटा बुथको पुन मतदान नगराएसम्म आफ्नो चरणवद्ध आन्दोलन भने जारी रहने नेकपा एमाले बाजुराले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्