काठमाडौं। काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउने काममा अवरोध भएको छ। काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरू हटाउने अभियान अन्तरगत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको थियो।
तर, सो बस्तीमा मानिसहरूले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरिरहेका छन्। बस्ती हटाउन गएका महानगरको टोलीलाई लक्षित गरी घरेलु हतियार तथा पेट्रोल बम समेत लिएर उत्रिएका छन्। नर्भिक उकालोमा तयारीसहित पुगेको महानगर टोलीलाई लक्षित गरी आन्दोलन गरेका छन्।
अहिले पनि त्यस क्षेत्र तनावग्रस्त छ। सुकुम्वासीहरूले डोजरको प्रतिकार गर्न प्रदर्शनलाई निरन्तरता दिएका छन्। काठमाडौं महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गर्दै त्यहाँको बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो। यता, सुकुम्वासीहरूले भने विकल्प नदिई आफूहरू सो बस्तीबाट नहट्ने जिकिर गरिरहेका छन्। उनीहरूले डोजर चलाउने डरले आफूहरूको सामान भने बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन्।