ओलीलाई बालेनको चेतावनी : सुकुम्वासी प्रकरणमा कुचेष्टा नगर्नुहोला

Balen_Shah
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले मेयर बालेन्द्र शाहले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुम्वासी भोट बैंक मात्र भएको बताएका छन्। मंगलबार ओलीले बल प्रयोगबाट सुकुम्वासी समस्याको समाधान नहुने बताउँदै बल प्रयोग गर्न गलत भएको बताएका थिए।

सामाजिक सञ्जालमार्फत जवाफ फर्काउँदै बालेनले २०४७ साल यता १४ वटा भूमि आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्वासी समस्या समाधान गर्न नसकेको बताए। बालेनले लेखेका छन्, ‘मन्त्री र पटक पटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन। सुकुम्वासीहरू तपाईंका लागि भोट बैंक मात्रै रहे।’

बालेनले सुकुम्वासीहरूलाई ओलीले गुठी आन्दोलन जस्ता आफ्ना स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गरेको आरोप समेत लगाएका छन्। ‘बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गर्नुभयो। त्यो पनि राजनीतिक स्वार्थवश,’ बालेनले लेखेका छन्, ‘तपाईँलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईँको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हनुमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईँले विरोध गर्नु असामान्य होइन।’

बालेनले परिस्थिति फेरिएको बताउँदै सकेको सहयोग गर्न तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न सुझाव दिएका छन्। ‘अब परिस्थिति फेरिएको छ। यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला,’ बालेनले लेखेका छन्।