बाजुराको मतगणना : सर्वदलीय बैठकमा एमाले अनुपस्थित

लोकपाटी न्यूज
3 Shares

बाजुरा। बाजुराको मतगणना अनिश्चित बनेको छ। बाजुरामा झडपका कारण रोकिएको मतगणना पुनः सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको थियो। निर्देशन बमोजिम मतगणना सुरु गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार अपराह्न बोलाएको सर्वदलीय बैठक बोलाएको थियो।

तर, बैठकमा नेकपा एमाले सहभागी नभएपछि बैठक निष्कर्ष विहीन सकिएको छ। बैठकले भोलि बिहान ७ बजे पुनः बस्ने र बैठकमा नेकपा एमालेलाई समेत आह्वान गर्ने निर्णय गरिएको निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन्।

नेकपा एमालेको उपस्थिति नभए मतगणना सुरु गर्ने कि नगर्ने भन्नेमा भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरिसकेको छैन। हत्यारा पक्राउ नगरेको र कब्जा बुथको प्रमाण हुँदा हुँदै पुन मतदानका विरुद्धमा निर्णय गरेको प्रति नेकपा एमाले थप आक्रोशित बनेको छ। यता नेकपा एमालेले भने प्रमुख जिल्ला अधिकारी र सुरक्षा समितिसँग भएको सहमति कार्यान्वयन नभएसम्म सर्वदलीय बैठकमा सहभागी नहुने अडान लिएको छ।

नेकपा एमालेले भने चेतन अयडीको हत्यामा संलग्नहरूलाई पक्राउ गर्नुपर्ने र आन्दोलनका क्रममा पक्राउ गरिएकालाई बिना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता काँसी बिकले बताए। उनले निर्वाचनका क्रममा भएका कमजोरी र ज्यादतीहरूको समीक्षा भएर साझा समझदारी नभएसम्म गणनाका लागि बोलाइने कुनै पनि औपचारिक बैठकमा सहभागी हुने सम्भावना नरहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्