काठमाडौं। ब्राजिलको दक्षिणी राज्य परानामा सडकमाथिबाट खसेको पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। बुधबार भारी वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोमा परि दर्जनौं बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।
पहिरोले ब्राजिलको बीआर थ्री सेभेन सिक्स राजमार्ग प्रभावित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। सडकको २ सय मिटर खण्डमा खसेको पहिरोले ६ वटा ट्रेलर र राजमार्गमा अन्य १५ वटा सवारीसाधन पुरिएको जनाईएको छ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार पहिरोमा परि करिब ५० जना बेपत्ता भएका छन्। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा पहिरोमा परि बेपत्ता भएकाहरुको खोजि तथा उद्धारकार्य जारी राखिएको छ।
अन्य तटिय क्षेत्रहरुमा भारी वर्षासँगै आएको बाढीले ५ सय भन्दा बढी घरहरुमा क्षति पुगेको जनाईएको छ। पहिरोले खाद्यान्न ढुवानीका लागि प्रमुख बन्दरगाह पारानागुवा पनि अवरुद्ध बनेको छ।