काठमाडौं महानगरको कदम ठिक छ, सुकुम्वासीका समस्या पनि हल गर्छौं : मन्त्री चौधरी

लोकपाटी न्यूज
9 Shares

काठमाडौं। शहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै सरकार बन्ने र उक्त सरकारको नेतृत्व शेरबहादुर देउवा गर्ने दाबी गरेका छन्। रिपोर्टर्स क्लबमा आज उनले भने,‘सरकार निर्माण गर्ने विषयमा छलफल भइरहेको छ, पाँच दलीय गठबन्धनको नै सरकार बन्छ। सरकारको नेतृत्व र मन्त्रीहरू पनि सल्लाहमै टुंगो लगाउँछौं। राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख सबै पद प्याकेजमै सहमति हुन्छ। निर्वाचनमा हामीले पाँच दलीय गठबन्धन बनाएका थियौं। पाँच वर्षसम्म अब यही गठबन्धनको सरकार बन्छ। यसमा कोही पनि कन्फ्युजन हुन जरुरी छैन।’

मन्त्री चौधरीले अहिले एमालेसहितको वामपन्थीहरूको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना नरहेको जिकिर गरे। उनले भने,‘एमालेसहितको वामपन्थीहरूको सरकार बन्ने कुनै सम्भावना छैन। यसमा कसैले पनि भ्रम नपाले हुन्छ। गठबन्धनकै नेतृत्वमा सरकार बन्छ। काँग्रेस ठूलो दल हो। उसको फष्ट च्वाईस हो। प्रधानमन्त्रीमा दाबी गर्ला। गठबन्धनभित्र काँग्रेसपछि माओवादी दोस्रो ठूलो दल हो, उसले राष्ट्रपति च्वाईस गर्ला। एकीकृत समाजवादीले सभामुखमा दाबी गर्न सक्छ। हुन त नेताहरूसँग मेरो कुराकानी भएको छैन। तर, यही तवरले छलफल अघि बढ्छ भन्ने लागेको छ।’

उनले आगामी फागुनसम्म नयाँ सरकार गठन गरिसक्ने दाबी गरे। उनले भने, ‘चुनावको परिणामबाट हामी सन्तुष्ट हुने कुरा उठाउनुभयो, हामी १९ सिटमा लडेका थियौं। १५ जित्ने दाबी थियो। तर, १० सिट जित्यौं। तुलना गर्दा राम्रो रिजल्ट ल्याएका छौं। अपेक्षा गरेअनुसार खासगरी अहिलेको रिजल्ट हेर्दा कमजोर छ। समानुपातिकमा १० लाख आउँछ भनेका थियौं। तर, अब ३ लाख प्लस ल्याउँछौं। सन्तुष्ट हुने कुरै भएन। कमीकमजोरी भएको छ। हामी निर्वाचनमा देखिएको समस्याको खोजी गर्छौं।’

मन्त्री चौधरीले अहिले मार्केटमा नयाँ अनुहारको रुपमा प्रधानमन्त्रीको खोजी भएको कुरातर्फ संकेत गर्दै त्यस्तो सम्भावना नरहेको स्पष्ट पारे। उनले भने,‘अबको प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो। त्योबाहेक अरुखालको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउन सक्दैन। प्रधानमन्त्रीमा गगन थापाले दाबी गर्नु सकारात्मक कुरा हो। सम्भव कति होला, त्यो उहाँको दलभित्रको कुरा हो। सांसद बनेपछि मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री हुन खोज्ने कुरा सामान्य हो।’

उनले लुम्बिनी प्रदेशको राजधानी दाङबाट अब बन्ने नयाँ मुख्यमन्त्रीको शपथ हुने दाबी गरे। उनले भने, ‘अब बन्ने संसद्को पहिलो बैठक राजधानी दाङमा बस्छ।’ मन्त्री चौधरीले आगामी ३५ दिनभित्र काठमाडौंको सुकुम्वासी समस्या हल गरिने विश्वास दिलाए। उनले भने, ‘सुकुम्वासी समस्याको कुरा चर्को रुपमा उठेको छ। इसमा घटना घटेको छ, यसमा म दुःख व्यक्त गर्न चाहन्छु। सुरक्षाकर्मीमाथि प्रहार भएको छ, उता महानगरको तर्फबाट डोजर चलाउने काम भएको छ। घटना घट्ने कुरा राम्रो होइन। काठमाडौंलाई सुन्दर शहरका रुपमा विकास गर्न काठमाडौं बागमती कोरिडोर निर्माण गर्नुपर्छ, त्यसको लागि त्यहाँका सबै घर भत्किनुपर्ने जरुरी छ। तर, उहाँहरूको व्यवस्थापन पनि गर्नुपर्छ। अहिले हामीले इचङ्गुनारायणमा ३२५ घरपरिवारलाई पुग्ने सुविधा सम्पन्न अपार्टमेन्ट बनाएका छौं।, त्यहाँ बस्न पटक-पटक भनेका छौं। उहाँहरू जानुभएन। उहाँहरू गएको भए, यो समस्या उत्पन्न हुने थिएन।’

उनले थापाथलीको सवालमा भने सुकुम्वासी बस्ती भनिएको ठाउँमा ठूला भवन बनाइएका र स्टल बनाएर भाडा असुल्ने काम भएको भन्दै आपत्ति जनाए। उनले भने,‘त्यहाँ ठूला भवन र स्टल बनाएर भाडा असुली गर्ने काम भएको छ। यो विषयमा पनि हाम्रो ध्यान पुगेको छ। सुकुम्वासी समस्या समाधानको लागि संवैधानिक रुपमा कानून निर्माण गरेका छौं। सम्भवतः तीन वर्षभित्र देशभरिको सुकुम्वासी समस्या हल गर्छौं। सुकुम्वासीको नाममा भाडा असुली गर्नेहरूलाई, ती व्यक्तिको विषयमा नोटिस गर्छौं। सरकारले के गर्नुपर्ने हो, त्यो गर्छौं। सुकुम्वासी समस्या समाधान हामी बेल म्यानेज तवरले व्यवस्थापन गर्छौं।’

उनले सबै सुकुम्वासीको पहिचान गर्ने र उनीहरूको घर नबन्दासम्म उनीहरूको लागि उचित बसोबासको व्यवस्थापन गर्ने सुनाए। उनले भने, ‘रेन्ट हामी तिर्छौं। तिर्नुपर्ने ठाउँमा सरकार पुगेको छ। अनधिकृत रुपमा घर बनाएर असुली गर्नेहरूलाई कारबाही गर्छौं।’ उनले काठमाडौं महानगरपालिकाले चालेको कदमको स्वागत गरे। उनले भने, ‘यो त समाजले व्यवस्थापन गर्नुपर्छ। महानगरले कुटपिट गर्ने कुरा बेठिक हो। तर, जे काम गरेको ठिक गरेको छ। दुर्घटना नमित्याईकन व्यवस्थापन गर्नुपर्छ। ३५ दिनभित्र कुनै न कुनै तवरले समस्या समाधान गर्छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्