काँग्रेसमा देउवाको विकल्प खोज्नु हुँदैन : उपसभापति खड्का

Purna_bahadur_khadka
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन्। बिहीबार काँग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको सालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका खड्काले देउवा नै अगाडि आएपछि धेरै दायाँ बायाँ कुरा गर्न आवश्यक नभएको तर्क गरे।

‘नेपाली काँग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी निर्वाचनमा होमिएका छौं। सत्ता गठबन्धन होमिएको छ। विशेषगरी काँग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडि बढेको छ। सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँबायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन,’ उनले भने।

उनले दलको नेताको निर्वाचन सर्वसम्मत रुपमा गर्नुपर्ने पनि बताए। उपसभापति खड्काले यो बेलामा काँग्रेस भित्र एकताको वातावरण बनाउनु आवश्यक रहेको बताए। काँग्रेसलाई एकतावद्ध बनाउँदै सत्ता गठबन्धन सहितका दलहरूलाई मिलाएर लानुपर्ने काँग्रेसको मुख्य दायित्व भएको उल्लेख गरे। उनले भने, ‘सबै खालको र सबै तहको नेतृत्वलाई, सबै उमेर समूहको नेतृत्वलाई सबै ठाउँमा समावेश गरेर सबै तहमा मिलाएर लिन सकिन्छ। र मिलाउनुपर्छ भन्ने मलाई लाग्छ र त्यो विश्वास पनि छ।’

उपसभापति खड्काले संसदीय दलको नेतामा अन्य नेताहरूको आकांक्षालाई अन्यथा मान्नु नहुने टिप्पणी गरे। व्यक्तिहरूको आकांक्षाकै बीचमा सर्व सहमतिको वातावरण बनाउने उनको भनाई छ। उनले सबैको महत्वकांक्षाहरुलाई त्यागेर सबैको सम्मान र भूमिका रहनेगरी अगाडी बढ्नुपर्नेमा जोड दिए। उनले सत्ता गठबन्धनकै सरकार बन्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्