सहकार्यका लागि राउतले प्रधानमन्त्री समक्ष राखे यस्ता शर्त

Deuba_CK-Raut
लोकपाटी न्यूज
10 Shares

काठमाडौं। नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबीच आपसी सहकार्यका विषयमा छलफल भएको छ। बिहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच दुवै नेताले शुभकामना साटासाट गर्नुका साथै संघ र मधेश प्रदेशमा सरकार गठन गर्ने विषयमा छलफल भएको हो।

प्रधानमन्त्री देउवाले काँग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन र लोकतान्त्रिक शक्तिहरूको सरकार बनाउन आग्रह गरेका थिए। जवाफमा राउतले आफ्ना माग सम्बोधन हुने अवस्थामा सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको प्रतिक्रिया दिए। दुवै नेताबीच छलफल भए पनि कुनै निर्णयमा भने नपुगिएको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए।

साहले सहकार्यका लागि राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी सिर्जना गर्नेलगायतका विषय उठाएको जानकारी दिए। उनले भने, ‘अध्यक्ष डा.राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी सिर्जना गर्नेलगायतका एजेण्डा उठाउनु भएको थियो। जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको डा. राउतले प्रतिक्रिया दिनुभयो।’

उनले सहकार्यका विषयमा थप छलफल गर्ने सहमति भएको पनि बताए। साहले भने, ‘जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको डा.राउतले प्रतिक्रिया दिनुभयो। दुवै नेताबीच पहिलो चरणको छलफल भए पनि कुनै निर्णयमा पुगिएको छैन। थप छलफल गर्ने सहमति भएको छ।’ राउतले यसअघि काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई पनि भेट गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्