काठमाडौं। नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज शुक्रबार घरेलु टोली नामिबियासँग खेल्दैछ। पहिलो खेलमा नेपालले घरेलु टोली नामिबियाको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा सुरु हुनेछ।
यस सिरिजमा नेपाल, नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ। नेपाल र नामिबियाबीच अहिलेसम्म दुई एकदिवसीय अन्तराष्ट्रिय भएको छ। जसमा दुवै खेल नामिबियाले जितेको छ। नेपाल तेस्रो खेलमा भने नामिबियालाई हराउन चाहन्छ।
६ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ। नामिबिया भने २७ खेलमा २७ अंकका साथ चौथो स्थानमा छ। बिहीबारबाट सुरू यस सिरिजमा नामिबिया पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो। नेपाल भने जितसहित सिरिजको सुरू गर्न चाहन्छ।