पर्वतमा निर्माण गरिँदै मगर सङ्ग्रहालय

Magar_Sangralaya
फाइल तस्बिर
लोकपाटी न्यूज
6 Shares

पर्वत। मगर समुदायको कला संस्कृति र ऐतिहासिक परम्परालाई संरक्षण गर्नका लागि पर्वतमा मगर सङ्ग्रहालय निर्माण गर्न थालिएको छ। पुन युवा क्लबको अगुवाइमा जिल्ला कुस्मास्थित दुर्लुङचोक नजिकै मध्यपहाडी राजमार्गको आडैमा सङ्ग्रहालय बनाउन सुरु गरिएको हो। सङ्ग्रहालय भवनको बुधबार कुस्मा नगर प्रमुख रामचन्द्र जोशीले शिलान्यास गरेका छन्।

सङ्ग्रहालय निर्माण गर्नका लागि क्लबले अघिल्ला दुई वर्ष लगातार दुई पटकसम्म मगर महोत्सवको आयोजना गरेको छ भने यस पटकको तिहारमा देउसी भैलो खेलेर रकम संकलन गरेको छ। सोही रकम र बाँकी विभिन्न सहयोग दाताबाट संकलन गरेर झण्डै एक करोडको लागतमा निर्माण गरिने युवा क्लबका अध्यक्ष कृष्ण पुनले जानकारी दिए।

मगर जातीको कला, कौशल, प्रवर्द्धनलगायत कुरामा नेतृत्वदायी भूमिका खेल्दै आएको पुन क्लबले आफूसँग भएको बजेटबाट भवन निर्माणको काम सुरु गरेको क्लबका अध्यक्ष पुनले बताए। मगर समुदायलगायत अन्य जनजातिका ऐतिहासिक तथा पुरातात्त्विक वस्तुको नमूना संकलन, ऐतिहासिक पाठ्यपुस्तक, धर्म संस्कृति र भाषाको संरक्षण, कला संस्कृति, रीतिरिवाज तथा चालचलन, मगर समुदायका खानाका परिकारलगायत सबैखाले विषयलाई सङ्ग्रालयमा समेटिने जनाइएको छ।

सबै जातजातिका भाषा, वेषभूषा, उनीहरूले प्रयोग गर्ने सामग्री, दैनिकी झल्किने चित्रलगायतका वस्तु राख्ने गरीसमेत तयारी गरिएको छ। २५ लाखबाट निर्माण गर्न थालिएको र काम सुरु गरेपछि विस्तारै सहयोग प्राप्त हुने क्लबले जनाएको छ। कुस्मा नगर प्रमुख जोशीले मगर समुदायका नेतृत्वमा सङ्ग्रहालय बन्ने भए पनि सबै जातजातिका पुरातात्त्विक महत्त्व बोकेका बस्तु रहने बताए।

उपप्रमुख स्वस्थानी रिजालले ऐतिहासिक महत्त्वका वस्तुको संरक्षणमा सङ्ग्रहालय महत्त्वपूर्ण हुने बताइन्। यही मितिमा निर्माणको पूरा हुन्छ भन्ने यकिन नभएको भवन निर्माण समितिका संयोजक गुमबहादुर पुनले बताए। रकम अभाव हुन नदिन सरकारी निकायमा पहल गर्नेदेखि आफूहरूले फेरि पनि देउसी भैलो तथा मगर महोत्सवलाई निरन्तरता दिने उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्