माओवादी उपमहासचिव पुन चीन प्रस्थान

लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन उपचारका लागि चीन प्रस्थान गरेका छन्। लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि पत्नी ओनसरी घर्तिमगरसहित फलोअपका लागि शुक्रबार राति चीन प्रस्थान गरेका हुन्।

चीन-नेपाल नियमित उडान नभएकाले उनी साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई हुँदै ग्वान्झाओ जानेछन्। ग्वान्झाओबाट सेनजेन जाने पुनको सचिवालयले जनाएको छ। पुनलाई बिदाइ गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत माओवादी नेताहरू विमानस्थल पुगेका थिए।

नेता पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार हुनेछ। एक वर्षअघि पनि उनको सोही अस्पतालमा उपचार भएको थियो। चीनमा उपचार गरेपछि नियन्त्रित अवस्थामा रहेको जण्डिसको मात्रा (बिलरुबिन) चुनावी धपेडीका कारण अत्यधिक बढेपछि उनलाई फलोअप उपचारमा जान चिकित्सकले सुझाएका थिए।

चीन जानुअघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। उनी यसअघि २०७८ मंसिरमा पनि सोही अस्पतालमा एक महिना उपचार गरी फर्किएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्