काठमाडौं। जनमत पार्टीका अध्यक्ष अध्यक्ष डा. सिके राउतले राजनीतिक प्रवृत्तिका कारण जनतामा छाएको निराशालाई चिरेर अघि बढ्न सक्नुपर्ने बताएका छन्। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणामले जनतामा थोरै भए पनि आशा जगाउने काम गरेको दाबी गरे।
राउतले अब आफूले पनि जनतामा आशा जगाउन काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने पनि बताए। उनले जनताको अपेक्षाअनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको बताए। उनले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरूको आशालाई निराश हुन नदिने गरी काममा खटिने योजना रहेका सुनाए।
‘कतिपयले त अन्तिम आशासमेत भन्नुहुन्छ। मलाई त्यो शब्द प्रयोग गर्दा एकदम डर लाग्छ। अन्तिम आशा हो भनिदिनु हुन्छ। अन्तिम आशा किन खतरनाक लाग्छ भन्दाखेरि हामीले काम गर्न सकेनौं भने के हुन्छ ? अन्तिम आशा तोडियो भने के हुन्छ ? देश निराशामा जान्छ, जनता निराशामा जान्छन्। जनताले हामीलाई अन्तिम आशाको रुपमा देखेका छन् भने हाम्रो पनि जिम्मेवारी त्यही स्तरको हुनुपर्छ। हामी पनि डू एण्ड डाईको मनस्थितिबाट काम गर्ने हुनुपर्दछ,’ उनले भने।