काठमाडौं। नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा गठबन्धनका उम्मेदवारविरुद्ध अन्तर्घात गर्नेमाथि कारबाही गर्ने भएको छ। केन्द्रीय अनुशासन समितिले आइतबार विज्ञप्ति जारी गरेर अन्तर्घात गर्नेमाथि पुस १५ भित्र कारबाही गरी जानकारी केन्द्रमा पठाउन भनेको छ।
यदि जिल्ला र प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी कारबाहीको निर्णयसहित पठाउन आग्रह गरिएको छ। पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको सन्दर्भमा जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन भनिएको छ।
‘२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने र यदि जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित २०७९ पौष १५ गते भित्र पठाउनु पर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ।