सत्ता गठबन्धनको विकल्प नखोजिको माओवादीको प्रष्टोक्ति

लोकपाटी न्यूज
8 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रले गठबन्धनमा रहेका दलहरूको विकल्प नखोजेको प्रष्ट पारेको छ। पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले वर्तमान सत्ता गठबन्धनसँगै मिलेर नयाँ सरकार गठनको प्रयास गर्ने विषयमा छलफल भएको जानकारी दिए।

‘गठबन्धनको विकल्पबारे कुरा सुरु भएकै छैन। अहिले गठबन्धन नै यथावत् भएकाले गठबन्धन भित्रबाटै पहिलो प्रयास स्वतः हुन्छ,’ उनले भने, ‘हिजो कुन प्रसंगमा कुरा आयो थाहा भएन। हिजो प्रवक्ता ज्यूले बोल्ने क्रममा पत्रकार साथीहरूसँगको अन्तरक्रियामा कसरी व्यक्त भयो त्यो सबै बुझ्न पाइएन। तर पनि सरकार गठनको बारेमा विकल्पका बारेमा कुराकानी भएकै छैन।’

भोलि बस्ने गठबन्धनको बैठकमा निर्वाचनको समीक्षा गरेर सरकार गठनको विषयमा धारणा बनाइने उनको भनाइ छ। अहिले आफूहरू गठबन्धनमै रहेको कारणले एमालेसँग मिलेर सरकार बनाउने विषयमा कुनै छलफल नभएको उनले बताए। अहिले गठबन्धनमै भएकाले मुख्य प्राथमिकता नै त्यही हुने गुरुङले दाबी गरे।

अहिलेसम्म गठबन्धनमा कुनै विमति र असहमति नरहेर गठबन्धनबाटै अगाडि बढ्न पहल गर्ने उनको भनाइ छ। त्यस्तै माओवादीले केही कमजोरीका बाबजुद मूलभूत रूपमा गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ। ‘निर्वाचनबाट कतिपय सन्दर्भमा अपेक्षाकृत परिणाम नआए पनि मूलभूत रूपमा सफल र परिणाममुखी भएको छ,’ गुरुङले भने, ‘निर्वाचनमा थोरै तलमाथि त हुन सक्छ। यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्