बुटवलबाट राजधानी नसार्न कांग्रेसको आग्रह

लोकपाटी न्यूज
0 Shares

रुपन्देही। नेपाली कांग्रेस रुपन्देहीले संरचना निर्माण नहुँदै बुटवलबाट राजधानी नसार्न आग्रह गरेको छ। आज प्रेस विज्ञप्ति जारी गरेर दाङमा कुनै संरचना निर्माण नभएका कारण हतारमा राजधानी नसार्न आग्रह गरेको हो।

पूर्वाधार निर्माणका काम सम्पन्न नहुँदै प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट राजधानी दाङ सार्न लागिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै उसले नयाँ सरकार नबन्दै वर्तमान काम चलाउ सरकारले यो काम गर्न नमिल्ने भनेको छ।

कांग्रेसले राजधानी लैजाने जिम्मा संरचना निर्माण भएपछि नयाँ बन्ने सरकारलाई दिनुपर्ने माग गरेको छ। कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले विज्ञप्ति जारी गर्दै प्रदेशसभाको नियमित काम गर्न संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ प्रदेश सरकार सचेत हुनुपर्ने उल्लेख गरेको छ।

कामचलाउ अवस्थामा रहेको लुम्बिनी प्रदेश सरकारले नयाँ सरकार गठन नहुँदै बुटवलबाट सबै मन्त्रालय दाङ सार्ने प्रयास गरेपछि कर्मचारी विरोधमा उत्रिएका छन्। स्थायी राजधानी देउखुरीमा पर्याप्त संरचना तयार नहुँदै मन्त्रालय सार्दा समस्या हुने बताउँदै कर्मचारीले सामूहिकरूपमा लुम्बिनी प्रदेशका मुख्य सचिवमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

प्रदेशसभाबाट दाङको देखुरी उपत्यका र अर्घाखाँचीको शितगंगा नगरपालिकाको राप्ती किनारमा लैजाने निर्णय भए पनि अहिले त्यहाँ संरचना नै निर्माण नभएको अवस्थामा काम गर्न नसकिने कर्मचारीको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्