कञ्चनपुरमा धान उत्पादन बढ्यो

dhan_p
लोकपाटी न्यूज
4 Shares

दोधारा चाँदनी। कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादकत्व १ दशमलव ३७ ले बढेको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले यस वर्ष कञ्चनपुरमा धान उत्पादन प्रति हेक्टर ३ दशमलव ९२ प्रतिहेक्टर छ।

‘गत वर्ष बेमौसमी वर्षाका कारण किसानको धान उत्पादनमा क्षति पुगेको थियो,’ उनले भने, ‘तर यस वर्ष धानको उन्नत जातका बीउको प्रयोग र नियमित वर्षाका कारण धान उत्पादन बढेको हो।’ उनका अनुसार यस वर्ष कञ्चनपुरमा एक लाख ९० हजार एक सय चार मेट्रिक टन धान उत्पादन भएको छ।

गत वर्ष कञ्चनपुरमा धानको उत्पादन २ दशमलव ५५ मेट्रिक टन प्रतिहेक्टर थियो। जिल्लामा ४८ हजार छ सय हेक्टरमा धान खेती हुन्छ। सूचना अधिकारी जोशीका अनुसार यहाँ उत्पादन हुने कञ्चनपुरमा खपत भई ८६ हजार मेट्रिक टन धान बचत हुने प्रारम्भिक अनुमान गरिएको छ।

‘कञ्चनपुर धान, गहुँ र मकैमा आत्मनिर्भर बनेको छ,’ उनले भने। किसानले समयमै रासायनिक मल पाउन सके धान उत्पादन अझै बढ्न सक्ने किसानहरू बताउँछन्। भीमदत्तनगरपालिका-१५ का विष्णु जोशीले सरकारले समयमै मल उपलब्ध गराउन सके धान,गहुँको उत्पादकत्व बढ्ने बताए।

‘समयमै मल पाउन सकेको भए अझ राम्रो उत्पादन हुन्थ्यो हामीसँग उन्नत जातको बीउको पनि कमी छ,’ उनले भने, ‘पर्याप्त सिचाइको सुविधा भए यहाँको उत्पादनले सुदूरका पहाडी जिल्लामा समेत खाद्य आपूर्ति गर्न सकिन्छ।’ तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीलाई सुदूरको खाद्य भण्डारको रुपमा लिइन्छ। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्