प्रचण्ड र एमाले सचिव महासेठबीच भेटघाट

Prachand_Raghu-Mahaset
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले महासचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ। महासेठ सोमबार दिउँसो प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए।

भेटमा उनीहरुबीच पछिल्लो चुनाव जितेकोमा बधाई तथा शुभकामना आदानप्रदान तथा सत्ता समीकरणको विषयमा छलफल भएको छ। सत्ता गठबन्धनको बैठक बस्नुअघि एमाले सचिव महासेठ खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

महासेठ प्रचण्ड भेट्न दिउँसो १ बजे खुमलटार पुगेका थिए भने सत्ता गठबन्धनको बैठक ३ बजे तय थियो। पछिल्लो समय सरकार गठनलाई लिएर दलहरुबीच तानातान छ। यसअघि निर्वाचन लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए।

त्यस क्रममा ओलीले अब मिलेर जान सकिने प्रस्ताव गरेको थिए। सोमबारै काँग्रेस नेता कार्कीले सभापति शेरबहादुर देउवाको दूतका रुपमा प्रचण्डलाई भेटेका छन्। त्यसपछि बालुवाटारमा सत्ता गठबन्धन बैठक बसिरहेको छ।

माओवादीले तत्काल गठबन्धनभन्दा बाहिर रहेर कुनै नयाँ समीकरणको छलफल नगर्ने र गठबन्धन दलकै बीचमा नयाँ सरकार निर्माणमा छलफल गर्ने बताइरहेका बेला एमाले नेताहरू एकपछि अर्को गरी प्रचण्डको सम्पर्कमा पुग्न थालेका हुन्।