नारायणी नदी तटबन्धको काम सुरु, मेयर दाहलद्वारा अनुगमन

Renu_Narayani
लोकपाटी न्यूज
6 Shares

चितवन। नारायणी नदी तटबन्धनको काम सुरु भएको छ। हिउँद लागेसँगै नारायणी नदीको निर्माण गर्ने काम सुरु भएको हो। नारायणी नदी तटबन्धको लागि संघीय सरकार उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयबाट करिब ५ अर्ब बजेट विनियोजन भई ४ वटा प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ। भने एउटा प्याकेजको बोलपत्र आह्वान भइसकेको छ।

ठेक्का सम्झौता भएको ४ वटा प्याकेजमा धमाधम काम सुरु भएसँगै यो कामले गति लिएको हो। नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शंकर बुढाथोकीका अनुसार रामघाटदेखि शिवघाट हुँदै काभ्रेघाटसम्म करिब ५ किलोमिटर १ अर्ब १५ करोडको ठेक्का सम्झौता भएको छ।

दोस्रो प्याकेज ५ किलोमिटरकै गाजीपुरदेखि हिरापुरसम्म ४८ करोडको ठेक्का सम्झौता भएको छ। सिसैदेखि बलुवासम्म करिब ५ किलोमिटर ३७ करोडको ठेक्का सम्झौता भएको छ। बलुवादेखि गोलाघाटसम्म २६ करोडमा ठेक्का सम्झौता भएको छ। पाँचौं प्याकेज नारायणी सिबिचको काम पुलदेखि करिब एक किलोमिटर अगाडि बोलपत्रको काम भई अहिले मूल्यांकनको क्रममा छ। यो प्याकेजको लागत अनुमान २० करोड रहेको छ।

सोमबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा आयोजनको अनुगमन तथा निरीक्षण गरिएको छ। निरीक्षणका क्रममा मेयर दाहालले तटबन्धनको कार्य प्रगतिको बारे जानकारी लिएकी थिइन्। तटबन्धनका लागि अहिले केही स्थानमा बिग बोल्डर (ठूलो चट्टान) झार्ने कार्य भइरहेको छ। भने क्याम्पहरू निर्माण पनि भइरहेको छ। नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी बुढाथोकीले अहिलेसम्म ३ प्रतिशत काम पुरा भइसकेको जानकारी दिए। अबको केही समयपछि आँखाले देखिने गरी तटबन्धनले आकार लिने छ।

अनुगमनपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरपालिका धेरै वटा आयोजना सञ्चालन हुँदै आएपनि नारायणी नदीको तटबन्धनको कामलाई प्राथमिकतामा राखेको उल्लेख गरिन्। नारायणी र राप्ती नदीको तटबन्धन गर्न सकेमात्र भरतपुरको दिगो विकास हुने भएकाले यो आयोजनालाई प्राथमिकतामा रहेको उनको भनाई थियो। तटबन्धनको काम गर्ने क्रममा सहजीकरण गर्न महानगरपालिका कुनै पनि समयमा तयार रहेको बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्