एकताबद्ध भएर अघि बढ्ने सत्ता गठबन्धनको प्रतिवद्धता

लोकपाटी न्यूज
10 Shares

काठमाडौं। सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच अहिलेकै गठबन्धनलाई निरन्तरता दिन सहमति भएको छ। सोमबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको हो।

बैठकले हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षासमेत गरेको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए। चुनावपछिको पहिलो बैठक भएकाले निर्वाचनको सामान्य समीक्षा गरिएको र आगामी दिनमा यही गठबन्धनको सरकारलाई निरन्तरता दिने निष्कर्ष निकालिएको उनले बताए।

त्यसैगरी, सोमबार सत्ता गठबन्धनको शीर्षस्थ नेताको संयुक्त बैठकले मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकताले यो गठबन्धनलाई निरन्तरता दिन जरुरी ठानेको निर्णय गरेको छ। यसैगरी आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता गठबन्धनले गरेको छ।

शीर्षस्थ नेताले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्