हामी कुनै गठबन्धनमा रहन्नौं : रेशम चौधरी

Resham_chaudhary
लोकपाटी न्यूज
12 Shares

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्ना माग सम्बोधन नभएसम्म कुनै पनि गठबन्धनमा नरहने बताएका छन्। उनले आफूहरूले खेपेको मुद्दाबाट मुक्त नभएसम्म कुनै गठबन्धनमा सहभागी नहुने बताए।

रासससँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘हामी सबैसँग सकारात्मक नै छौं। जबसम्म हाम्रा मुद्दाहरू सम्बोधन हुँदैनन्, तबसम्म कुनै विकल्पमा जान्दैनौं। कुरा प्रस्ट छ, जुन बाटोबाट मलगायत थुप्रै साथीहरू थुनियौं, मुद्दा खेप्यौं, त्यसबाट मुक्त गर्नुपर्‍यो।’

नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित संघीय संसद्मा आफ्नो उपस्थिति जनाउँदैछ। चौधारी कैलालीको टीकापुरमा भएको घटनामा संलग्न भएको अभियोगमा जेल सजाय भोगिरहेका छन्। उनको पार्टी निर्वाचन परिणाम आएसँगै सरकार गठनका सन्दर्भमा पुनः चर्चामा रहेको छ। सरकार गठनका लागि बहुमत जुटाउने कसरत भइरहेका बेला नागरिक उन्मुक्ति पार्टी कुन कित्तामा उभिन्छ भन्ने पनि जनचासोको विषय छ।

तर, चौधरीले आफ्ना सम्बोधन नभएसम्म कुनै पनि गठबन्धनमा सहभागी नहुने बताए। उनले आफ्ना माग सम्बोधन गर्ने प्रतिबद्धता जसले जनाउँछ उसैलाई सघाउने बताए।

उनले भनेका छन्, ‘हाम्रा माग पुरानै छन्। पटक-पटक उहाँहरूलाई भनिएकै हो। टीकापुर घटना राजनीतिक घटना हो त्यहीअनुसार व्यवहार गरिनुपर्थ्यो, हालसम्म गरिएको छैन। फेरि पनि ती माग जसले सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछ, उहाँहरूसँग सहकार्य हुन्छ। त्यो भनेको रिहाइ र सम्मानजनक क्षतिपूर्तिको व्यवस्था गरिनु पर्दछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्