सुनसरी। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले नेकपा एमालेसँगको सहकार्यबारे कुनै आधिकारिक निर्णय नभएको बताएका छन्। धरानमा सञ्चारकर्मी कुरा गर्दै उनले पार्टीमा चुनावी तालमेल र नतिजाबारे समीक्षा गरेर आवश्यक निर्णय लिइने बताए।
साथै राईले एमालेसँगको तालमेलको औचित्य सकिएको अध्यक्ष उपेन्द्र यादवको भनाइ’ व्यक्तिगत भएको पनि स्पष्ट पारे। ‘अध्यक्ष ज्यू (उपेन्द्र यादव) को भनाइ पार्टीको आधिकारिक धारणा नभएर व्यक्तिगत हो । पार्टीमा हामीबीच चुनावी तालमेल र नतिजाबारे छलफल, विश्लेषण र कुनै पनि आधिकारिक निर्णय भएको छैन। त्यसैले उहाँले बोल्नुभएको कुरा व्यक्तिगत हो,’ उनले भने।
एमाले र जसपा गठबन्धन गर्दा पनि सप्तरी-२ बाट चुनाव हारेपछि अध्यक्ष उपेन्द्र यादवले आइतबार एक कार्यक्रममा एमालेसँगको चुनावी तालमेल सकिएको धारणा राखेका थिए। तर, सुनसरी क्षेत्र नम्बर १ मा एमालेकै सहयोगमा जितेका अशोक राईले अध्यक्ष यादवको धारणाको खण्डन गरेका हुन्।
राईले केही दिनभित्र काठमाडौंमा छलफल गरेर कुन गठबन्धनमा लाग्ने भन्ने निष्कर्ष निकाले प्रस्ट्याए। राईले भने, ‘राजनीतिमा व्यक्तिगत कुरा गर्दा मजा आउँदैन। अब म तीन दिनपछि काठमाडौं पुगेपछिमात्र हामी सल्लाह गरेर पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने छौं। प्रदेशमा कसरी जाने र संघमा कसरी जाने भन्ने निर्णय गर्ने छौं।’