काठमाडौं। सवारी नियम पालन नगर्ने २६ सवारी चालकका लाइसेन्स निलम्बन हुने भएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले धेरै पटक नियम उल्लंघन गर्ने २६ सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग मिनभवन पठाएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियम पाँच (५) पटकभन्दा बढी उल्लंघन गर्नेलाई यो कारबाही गरिएको हो। पाँच पटक नियम उल्लंघन गरेको पाएमा सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बन गर्न यातायात व्यवस्था विभाग पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।
निलम्बनका लागि पटाइएका मध्ये एक जना चालकले ३८ पटक सम्म सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सह-प्रवक्ता अवदेश विष्ट क्षेत्रीले जानकारी दिए।