जनताले मानवअधिकारको महसुस गर्न सकेनन् : उपराष्ट्रपति पुन

Nanda_Bahadur_Pun
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकारसँग सम्बन्धित कानूनी व्यवस्थाहरूको पूर्ण रुपमा लागू गर्न ध्यानाकर्षण गराएका छन्। बिहीबार काठमाडौंमा आयोजित १४ औँ राष्ट्रिय मानव अधिकार महाभेलामा उनले मानव अधिकारसँग सम्बन्धित कानूनी व्यवस्थाहरूलाई पूर्ण रुपमा लागू गराउन सबैको ध्यानाकर्षण गराएका हुन्।

उपराष्ट्रपति पुनले मानव अधिकार उल्लंघनका घटनाहरू अझै पनि नरोकिएको बताए। उनले सबै जनताले मानव अधिकार पाएको महशुस गर्न नसकेको बताए। उपराष्ट्रपति पुनले मानव अधिकार आवाजविहीन, शोषित उत्पीडित र राज्यले पछि पारेका जाति र वर्गहरूको लागि आवश्यक रहेको बताए। मानव अधिकारको पूर्ण पालना भएको ठाउँमा विभेद, उत्पीडन, गरिबी, अन्याय र अत्याचार नहुने उनको भनाइ थियो।

उनले भने, ‘मानवअधिकार उल्लंघनका घटनाहरू रोकिएका छैनन्। जनताले सम्पूर्ण मानव अधिकार पाएको महसुस गर्न सकिरहेको अनुभूति हुँदैन। जहाँ मानव अधिकारको पूर्ण पालना हुन्छ, त्यहाँ विभेद, उत्पीडन, गरिबी, अभाव, अन्याय, अत्याचार अर्थात् शोषण हुँदैन। यी सबै कारण मानव अधिकारको सम्मान, संरक्षण र पालना गर्न अनिवार्य छ।’

उनले मानव अधिकारका प्रत्याभूतिका लागि कानूनी व्यवस्थाहरूको पूर्ण लागू गर्न आवश्यक रहेको बताए। उपराष्ट्रपति पुनले आगामी दिनमा संघ र प्रदेशमा बन्ने सरकारले मानव अधिकार र सुशासनको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्