भाडा वृद्धि फिर्ता गर्न औद्योगिक लिमिटेडलाई महासंघको ध्यानाकर्षण

लोकपाटी न्यूज
4 Shares

काठमाडौं। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नियम विपरीत भाडादर वृद्धि गरेको भन्दै भाडादर तत्काल फिर्ता गर्न नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले माग गरेको छ। लिमिटेडले विद्यमान ऐन र नियम विपरीत भाडादर वृद्धि गरेकामा विरोध जनाउँदै महासंघले आज पत्रकार सम्मेलन गरी भाडादर तत्काल फिर्ताको माग राख्दै संघर्षका कार्यक्रम घोषणा गरेको हो।

निर्यात प्रवर्द्धन गर्ने र उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लिएको निकायले उद्योग नै चल्न नसक्ने गरी भाडा वृद्धि गरेको महासंघको ठहर छ। महासंघको सहमति विपरीत २०७५ सालमै सञ्चालक समितिले सात सय प्रतिशतसम्म भाडा बढाएको र अहिले सो कार्यान्वयन गर्ने भन्दै २०७९ साउन २ मा भाडा वृद्धिको लाखौँको बिल उद्योगमा पठाएको भन्दै महासंघले विरोध गरेको छ।

महासङ्घका अध्यक्ष रामहिरा पाठकले बैंकलाई ब्याज तिर्न र कर्मचारीलाई तलब खुवाउनसमेत समस्यामा रहेका व्यवसायीलाई भार पर्नेगरी भाडा वृद्धि गरिएको बताए। उनले एकै पटक सात सय प्रतिशतले भाडा वृद्धि गर्ने कार्य नियमसम्मत नभएको जिकिर गर्दै उक्त निर्णय तत्काल खारेज गर्न माग गरे।

अध्यक्ष पाठकका अनुसार २०७१ सालमा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडा वृद्धिको मापदण्ड बनाएर पाँच/पाँच वर्षमा भाडा वृद्धि गर्नुपर्ने व्यवस्था गरिएको थियो। विसं २०७२/२०७४ मा १५/१५ प्रतिशतका दरले भाडा वृद्धि गरिएको र २०७५ सालमा एकै पटक सात सय प्रतिशतले वृद्धि गरिनु नियमसम्मत नभएको व्यवसायीको बुझाइ छ।

उद्योगीले उठाएका माग सम्बोधन नगरेका खण्डमा पहिलो चरणबद्ध संघर्षमा उत्रन बाध्य हुने महासंघका पूर्वध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए। नेपालमा हाल १० वटा औद्योगिक क्षेत्र सञ्चालनमा छन्। ती क्षेत्रमा सञ्चालित करिब सात सय ५० उद्योगबाट विभिन्न शीर्षकमा वार्षिक ५५ अर्ब हाराहारी राजस्व बुझाउने गरिएको महासंघको दाबी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्