ज्ञानेश्वर सामुदायिक वन भरतपुरको उत्कृष्ट गन्तव्य बन्छ : रेनु दाहाल

Renu Dahal
लोकपाटी न्यूज
4 Shares

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ज्ञानेश्वर सामुदायिक वन क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र निर्माण गर्ने बताएकी छन्। शुक्रबार ज्ञानेश्वर सामुदायिक उपभोक्ता समूहको २३ औँ साधारणसभामा उनले जल, जमिन र वनको संगम ज्ञानेश्वरलाई महानगरको मुख्य पर्यटकीय गन्तव्य बनाउन सकिने उल्लेख गरिन्।

‘नारायणी तटबन्धको ठूलो रकमको ठेक्का यही क्षेत्रमा पर्छ,’ उनले भनिन्, ‘तटबन्धको काम पनि सुरु भइसक्यो। तटबन्धसँगै कंक्रिट पर्खाल र बाटो बन्छ। त्यसपछि पर्यटक आउने क्रम बढेर जान्छ।’ ज्ञानेश्वर (सानो गढी)लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन र बाह्य र आन्तरिक पर्यटकको आगमनलाई वृद्धि गर्न भरतपुर महानगरपालिकाले पहल गर्ने बताइन्।

मेयर दाहालले ज्ञानेश्वरमा ‘मिनी जु’ निर्माण गर्न संघीय सरकारसँग बजेटको माग भए पनि पछिल्लो समयमा कटौती हुन पुगेकाले ‘जु’ निर्माणको काम रोकिएको उल्लेख गरिन्। अर्को आर्थिक वर्षमा जसरी पनि बजेट ल्याउने प्रतिवद्धता व्यक्त गरिन्। उनले ५ वर्ष ज्ञानेश्वर सामुदायिक क्षेत्रमा भौतिक पूर्वाधार विकासमा भरतपुर महानगरपालिकाले करिब १ करोड बढी बजेट विनियोजन गरेको स्मरण गरिन्।

ज्ञानेश्वर क्षेत्रमा मानव र वनजन्तुको द्वन्द्व न्यूनीकरणको लागि मेसजाली फाउण्डेशनको लागि ३५ लाख विनियोजन भई अब केही समयभित्रै टेण्डर प्रक्रिया अगाडि बढाइने जानकारी दिइन्। ज्ञानेश्वर वन क्षेत्र भरतपुरको ७ मुख्य पर्यटकीय क्षेत्र मध्ये एक गन्तव्य हो। ज्ञानेश्वर क्षेत्रलाई सानो गढीका रुपमा पनि चिनिन्छ। भरतपुरको मुख्य बजार क्षेत्रबाट कम दुरीमा पर्ने भएकाले यहाँ वनभोज तथा अन्य पर्यटकीय गतिविधिका लागि मानिसहरू यहाँ जाने गर्दछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्