लैङ्गिक हिंसा रोक्न सामाजिक जागरण जरुरी छ : मन्त्री रेग्मी

Uma_Regmi
लोकपाटी न्यूज
5 Shares

ललितपुर। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले कानुनको आडमा महिला हिंसा भइरहेको टिप्पणी गरिन्। उनले समाज, परिवार र घरघरको मानसिकतामा परिवर्तन नआईकन महिला हिंसाबाट छुट्कारा नमिल्ने तर्क गरिन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने (नोभेम्बर २५-डिसेम्बर १०) अभियानअन्तर्गत सञ्चालित कार्यक्रममा मन्त्री रेग्मीले समाजमा व्याप्त लैङ्गिक हिंसा रोक्नका निम्ति सामाजिक जागरण ल्याउन अनिवार्य भएको राय व्यक्त गरिन्।

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) नेपालका आवासीय प्रतिनिधि एल्के विस्चले महिलाविरुद्धको हिंसा अन्त्य गर्न महिला एक्लैको मात्र प्रयास पर्याप्त नहुने विचार व्यक्त गरेका छन्। उनले हिंसा अन्त्य गर्नका लागि समाजका सबै तप्काहरूको संयुक्त प्रयास जरुरी हुने भनेका छन्।

कार्यक्रममा ‘हामी दाजुभाइ’का अध्यक्ष सन्जोग ठकुरीले लैङ्गिक समानताका निम्ति महिला एक्लैको मात्र प्रयासले नहुने धारणा राख्दै त्यसको निम्ति पुरुष तथा बालबालिकाको समेत सहभागिता महत्त्वपूर्ण हुने तर्क प्रस्तुत गरे। त्यसैगरी पत्रकार समा थापाले पुरुषलाई आफ्नो कमजोरी देखाउन नहुने र उनीहरू दुःख पर्दा पनि रुन नहुने भन्ने सामाजिक मान्यताले गर्दा उनीहरूमा हिंसा र कठोरपनको विकास हुन जाने मनोवैज्ञानिक तथ्यमाथि प्रकाश पारिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्