चितवनमा हुने नेपथ्य लाइभ कन्सर्टको सबै तयारी पुरा

pic--4
लोकपाटी न्यूज
5 Shares

चितवन। मानवता प्रवद्र्धनका लागि मानवसेवा आश्रमको आयोजनामा चितवनको नारायणगढस्थित क्याम्पाचौरमा आइतबार साँझ ४ बजेदेखि हुने ‘नेपथ्य लाइभ कन्सर्ट’को सबै तयारी पुरा भएको छ। कन्सर्टको पूर्वसन्ध्यामा शनिबार साँझ नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङले क्याम्पाचौरमा शनिबारनै पुगेर रिहर्सल गरी स्टेजमा माइक परीक्षणको काम समेत सम्पन्न गरे। कार्यक्रमका अन्य आवश्यक सबै तयारी पुरा भएको र टिकट विक्रीसमेत सकिएकाले कन्सर्टका दिन थप टिकटको व्यवस्थापन गरिएको मानवसेवा आश्रमका जिल्ला संयोजक सौगात श्रेष्ठले जानकारी दिए।

नेपथ्यका मुख्य गायक गुरुङको झण्डै दुई घण्टा एकल प्रस्तुतिमा क्याम्पाचौरमा उपस्थित सङ्गीत पारखी मजैले झुम्न पाउनेछन्। सङ्गीतसँगै तरङ्गीत हुने गायक गुरुङको हाउभाउ र शरीरको ताल र जोशले उपस्थित दर्शकलाई मजैले झुमाउने छ। त्यसअघि आजै आश्रमको कार्यालय नारायणगढमा नेपथ्यका मुख्य गायक गुरुङसहित नेपथ्य परिवारसँग चियापान तथा भेटघाट कार्यक्रम भएको थियो। उक्त कार्यक्रममा चिनवनवासीको भव्य उपस्थिति रहेको थियो।

समरोहमा गायक गुरुङले बाँचुञ्जेल खुसी भएर बाँच्न र जीन्दगीभर परोपकारी काम गर्न अनुरोध गर्दै जीवनमा सबैभन्दा बढी कार्यक्रम नारायणढमै भएको बताए। उनले यसपटक चितवनमा व्याण्डले आठौँ संस्करणको प्रस्तुति दिन लागेको जानकारी दिँदै मानवताका लागि हुन लागेको यो कार्यक्रम अझै खास रहेको बताए। उनले धन भएका भन्दा पनि मन भएकाहरुले सहयोग गर्ने भएकाले यो मानव मन्दिर निर्माणमा हातेमालो गर्न सबैमा अनुरोध गरे।

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले क्याम्पाचौरको कन्सर्ट हेर्न चितवनवासीसँगै आफू पनि आतुर रहेको बताइन्। उनले बेसहारा तथा सहयोगापेक्षी सडकआश्रित मानवको मानवोचित व्यवस्थापनका लागि महानगरपालिका नचुक्ने बताउँदै आश्रमलाई आवश्यक सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता जनाइन्। यसपालीको कन्सर्टको महानगरपालिका सहआयोजक समेत हो। आश्रमका अध्यक्ष रामजी अधिकारीले चितवनवासीको साथ सहयोग र हौसलाले यहाँको सडकमा सहयोगापेक्षी सडक मानवरहित बनाउन सफल भएको र यसको निरन्तरताका लागि अझै सहयोग र हौसलाको खाँचो रहेको बताए।

यसपालिको कन्सर्टका संयोजक तथा आश्रमका अभिभावक ओमकार कँडेलले सन् २०८२ सालसम्म मुलुकका सडकलाई नै सहयोगापेक्षी सडकमानव रहित बनाउने आश्रमको संकल्पलाई सार्थक बनाउन सबैको साथ र सहयोग आवश्यक भएको बताए। उनले सरकारले गर्नुपर्ने काम मानवसेवा आश्रमले गरिरहेको उल्लेख गर्दै मानवीयताको अभियानमा एकजुन हुन आव्हान पनि गरे। उनले आश्रमको आजिवन भोजनसेवा दातासमेत हुन्। उनले युवालाई जोडेर मानवताको सन्देश दिने र मानवता प्रवद्र्धन गर्ने यो कार्यक्रमको मुख्य उद्देश्य भएको बताए।

कार्यक्रममा उद्योग बाणिज्य संघ चिनवनका अध्यक्ष चुननारायण श्रेष्ठले आश्रमले शुरु गरेको पवित्र कामलाई संघले सधैँ साथ दिने उल्लेख गरे। कार्यक्रमका भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, चितवनका प्रहरी प्रमुख नवराज अधिकारी, आश्रमका अभिभावक प्रभातकुमार जोशी, लक्ष्मण अर्याललगायतले आश्रमको कामको प्रशंसा गर्दै आआफ्नो क्षेत्रबाट सहयोगका लागि अनुरोध गरेका थिए।

मानवता प्रवद्र्धनका साथै यहाँ रहेको मानवसेवा आश्रमको भवन निर्माण सम्पन्न गर्न तथा आश्रित बेसहाराहरुको संरक्षण र पालनपोषणको सहयोगार्थ यही आइतबार हुने ‘नेपथ्य लाईभ कन्सर्ट’मा त्यसका मुख्य गायक अमृत गुरुङले डेढ दर्जन लोकरपप गीतहरु प्रस्तुत गर्नेछन्। मानवता प्रवद्र्धनका लागि मुलुकका प्रमुख १० शहरमा गर्न लागेको कन्सर्टअन्तरगत चितवनको योे कार्यक्रम चौथो हो। यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा र २२ गते हेटौंडामा कार्यक्रम सम्पन्न भइसकेको छ। तीन वटै कार्यक्रममा पाँच हजार बढी मासिको सहभागिता रहेको थियो। चितवनमा भने ६ हजार दर्शक उपस्थित गराउने लक्ष्य रहेको छ।

यसपछि मंसिर २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ ९रामनगर० मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ। अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ। कन्सर्टमा सहभागि हुन मानवसेवा आश्रमको कार्यालयका साथै अनलाइन्बाट पनि टिकट लिन सकिन्छ। टिकट शुल्क रु एक हजार रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्