युक्रेनको ओडेसामा १५ लाखभन्दा बढी मानिस अन्धकारमा

Ukren
लोकपाटी न्यूज
7 Shares

एजेन्सी। शनिबार युक्रेनको ओडेसामा अन्धकार छाएको छ। किनकि यहाँ ऊर्जा प्रदायक संरचना रुसी आक्रमणबाट प्रभावित भएका छन्। बन्दरगाह शहरका १५ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएको अल जजीराले उल्लेख गरेको छ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जनतालाई सम्बोधन गर्दै ओडेसाको बन्दरगाह शहरमा ऊर्जा सुविधा कमजोर भएकाले स्थिति निकै गाह्रो हुँदै गएको बताएका छन्। युक्रेनी अधिकारीका अनुसार निरन्तर द्वन्द्वको क्रममा इरानमा निर्मित ड्रोनद्वारा यस क्षेत्रका दुई ऊर्जा सुविधामा आक्रमण भएपछि ओडेसा बिजुलीविहीन भएको हो।

अधिकारीका अनुसार शनिबार बिहानको समयमा रुसी आक्रमणले महत्त्वपूर्ण प्रसारण लाइन र मेसिनरीलाई प्रहार गरेको थियो। अस्पताल र प्रसूति वार्डलगायत महत्त्वपूर्ण पूर्वाधारमा मात्र बिजुलीको पहुँच रहेको बताइएको छ। ‘अहिलेसम्म शहर बिजुलीविहीन छ,’ राष्ट्रपति प्रशासनका उपप्रमुख किरिलो टिमोशेन्कोले मेसेजिङ एप टेलिग्राममा भनेका छन्।

युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह शहर ओडेसामा यस वर्षको फेब्रुअरी २४ मा रुसले आक्रमण गर्नुअघि १० लाखभन्दा बढी जनसङ्ख्या थियो। यसैबीच नोभेम्बरमा, दक्षिणी युक्रेनको निकोपोल जिल्लामा रुसले आक्रमण गरेको र स्थिति बिग्रँदै गएको जिल्ला सैन्य प्रशासनका प्रमुखले बताएका छन्।

‘करिब ६० गोला र रकेट हतियार शान्तिपूर्ण बस्तीमा खसे,’ निकोपोल जिल्लाका प्रशासन प्रमुख येभेन येभतुसेन्कोले टेलिग्राम पोस्टमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्