हामी जहाँ उभिन्छौं, त्यहीँ सरकार बन्छ : प्रचण्ड

prachanda
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताएका छन्। प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकमा उनले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताए।

‘माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो, जसलाई हिसाबकिताब नगरी अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन,’ उनले भने। माओवादीलाई निमिट्यान्न पार्न धेरै शक्ति लागेको बताउँदै उनले यसको रक्षा गर्ने दायित्व सबैको भएको बताए।

‘सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ,’ उनले भने, ‘६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ। हामी जहाँ उभिएका छौँ सरकार त्यही बन्छ।’ यो निर्वाचन अपेक्षित नभएको बताउँदै उनले खतम भएको देख्न चाहने शक्तिले माओवादीलाई कमजोर बनाउन खोजे पनि स्थिति त्यस्तो नभएको दाबी गरे।

अन्तर्राष्ट्रिय गतिविधिको राम्रोसँग विश्लेषण गरी बहुध्रुवमा गएको विश्व परिघटना र अहिलेको जनमतलाई सही ढङ्गले बुझ्न र मुलुकलाई नयाँ शिराबाट लैजान प्रेस सेन्टरले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिए। अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका उपलब्धिहरूको रक्षा र संस्थागतका लागि सूचना तथा सञ्चारमाध्यमबाट मिडिया विषयवस्तु बनाएर त्यसको सही बजारीकरण गर्नसमेत आग्रह गरे।

प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले प्रविधिको जति विकास भए पनि सही सामग्री उत्पादन प्रधान कुरा रहेको बताएश्र ‘हामीसँग श्रम छ तर पूँजी छैन भने सहकारीमार्फत सञ्चारमाध्यम सञ्चालन गर्न जरुरी छ,’ उनले भने, ‘यो कोणबाट अगाडि बढ्न सकिए सङ्गठनले जीवन्तता र गतिशीलता पाउँछ।’

सम्पन्न बैठकमा प्रेस सेन्टरका प्रवास अध्यक्ष ओम शर्मा, केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटा, सबै प्रदेश तथा प्रतिष्ठानका इञ्चार्ज तथा अध्यक्ष र केन्द्रीय समितिका पदाधिकारीहरूबीच समीक्षात्मक अन्तरक्रिया तथा छलफल भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्