विषादीको प्रयोगमा सावधानी अपनाउन सुझाव

Poision_Bisadi
लोकपाटी न्यूज
4 Shares

विराटनगर। जीवनाशक विषादीको प्रयोग सावधानीपूर्वक गर्नुपर्नेमा सहभागीहरूले दिएका छन्। ‘टाढा र नजिक’ दुवै ठाउँमा राख्न नसकिने यस्ता विषादी प्रयोग गर्दा वातावरणमैत्री र जनस्वास्थ्यमा असर नपर्ने विधि अवलम्बन गर्नुपर्ने उनीहरूको सुझाव छ।

ललितपुरको हरिहर भवनस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रद्वारा आज यहाँ आयोजित जीवनाशक विषादी ऐन तथा नियमावलीसम्बन्धी विषादी विक्रेता, आयातकर्ता र सरोकारवालाबीचको अन्तर्क्रिया कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।

विषादी कृषि उत्पादनका लागि अति आवश्यक भए पनि यसको मात्रा दिनप्रतिदिन घटाउँदै लैजानुको विकल्प नरहेको भन्दै उनीहरूले ऐन तथा नियमावलीमा उल्लेखित ब्यहोरा पूर्णपालना गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

प्रदेश नं १ र मधेस प्रदेशका विषादी व्यवसायी, आयातकर्ता र सरोकारवाला गरी ३० जना सहभागी रहेको सो गोष्ठीमा प्रदेश नं १ का कृषि मन्त्रालयका कानुन अधिकृत शंकर बाराकोटीले विषादी ऐन र नियमावलीका बारेमा कार्यपत्र प्रस्तुत गरेका छन्।

नेपालमा बर्सेनि करिब आठ सय ३१ मेट्रिकटन जीवनाशक विषादी आयात हुने गरेको छ। एक सय ६५ प्रकारका त्यस्ता विषादीमा २४ प्रकारको विषादी आयात हुन सरकारले प्रतिबन्ध लगाएको वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलले जानकारी दिए।

गोष्ठी उद्घाटन गर्दै प्रदेश नं १ कृषि सचिव मेघनाथ तिमल्सेनाले नेपालमा २०५१ सालमा जीवनाशक विषादी ऐन तर्जुमा भएको चर्चा गर्दै यस्तो विषादी प्रयोगकर्तासम्म ऐनमा उल्लेखित विषयमा जानकारी गराउनु अपरिहार्य भएको बताए। उनले वातावरण र जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने विषादी प्रयोगमा सावधानी अपनाउनुपर्नेमा जोड दिए।

केन्द्रका प्रमुख सावित्री बरालले विषादी व्यवसायीले आफ्नो व्यवसायसँगै दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिँदै यस क्षेत्रमा देखिएका समस्या पहिचान गरेर समाधानको बाटो पहिल्याउनुपर्ने धारणा व्यक्त गरिन्। कार्यक्रममा विषादी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष अनिलकुमार साहले ऐनमा उल्लेखित कुरा र मार्गदर्शनअनुरूप कार्य गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्