अध्यादेशबारे शेखरले भने : राजनीतिक सहजताको लागि कानुन बंग्याउने छुट कसैलाई छैन

Shekhar_Koirala
लोकपाटी न्यूज
10 Shares

काठमाडौं। नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला बन्दी रिहाइका लागि भनेर सरकारले ल्याउन तयारी गरेको अध्यादेशको विपक्षमा उभिएका छन्। डा. कोइरालाले अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास लोकतन्त्रको उपहास हुने बताएका छन्।

मन्त्रिपरिषदको आइतबारको बैठकले नागरिक नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, सिके राउतको जनमत पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जघन्य अपराधमा संलग्न भई अदालतबाट कैद सजाय सुनाएकालाई रिहाइका लागि भनेर अध्यादेश पारित गरेको थियो। उक्त अध्यादेश राष्ट्रपतिबाट जारी हुन बाँकी छ।

सरकारले अध्यादेश ल्याउने तयारी गरेपछि काँग्रेसबाटै चर्को विरोध भएको छ। काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताहरूले सरकारको उक्त निर्णयको विरोध गरेका छन्। डा. कोइरालाले पनि अदालतले दोषी ठहर्‍याएका व्यक्तिलाई छुटाउनकै लागि कानुन बंग्याउने छुट कसैलाई नभएको बताएका छन्।

उनले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अध्यादेशमार्फत कानुन संशोधन गरी अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो। आफू अनुकूलको राजनीतिक सहजताको लागि कानुनलाई बंग्याउने छुट कसैलाई छैन। भोलि यसले गलत नजिर बस्न जान्छ।’