सरकारको जवाफ : अहिलेको आवश्यकता भएकाले अध्यादेश ल्याइएको हो 

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। सरकारले हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउने उद्देश्यका साथ मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिएको स्पष्ट पारेको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनसायका साथ मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउने उद्देश्यका साथ अध्यादेश ल्याएको बताए।

यसअघिका सरकारले पनि यस किसिमका अध्यादेश जारी गरेको र माफी दिने सहमति गरेको उनले बताए। अध्यादेशले मुलुकको विकास तथा आन्तरिक एकतामा सबैलाई योगदान गर्न सहज वातावरण बनाउने प्रवक्ता कार्कीको भनाइ छ। उनले मुलुकलाई विकास, शान्ति, एकता चाहिएको र त्यसका लागि सबैको योगदान आवश्यक रहेको तर्क गरे।

‘मुलुकलाई आन्तरिक एकता साथ, सबैलाई काम गर्न दिने मनशासय साथ, असन्तुष्ट पक्षलाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउन राष्ट्रपति समक्ष सिफारिस गरेका हौं,’ मन्त्री कार्कीले भने, ‘अघिल्ला सरकारले गरेको थियो। यो अहिलेको आवश्यकतालाई ध्यानमा राखेर सबैलाई सहज वातावरण बनाउन अध्यादेश सिफारिस भएको हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्