राष्ट्रपति कार्यालय पुग्यो विवादित अध्यादेश

लोकपाटी न्यूज
8 Shares

काठमाडौं। सरकारले कैदी बन्दीलाई छुट दिने गरी ल्याएको फौजदारी संहिता संशोधन सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ। राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको जानकारी दिए। मन्त्रिपरिषद्को आइतबारको बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।

राजनीतिक आन्दोलनमा सहभागी भएकाको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको हो। सत्ता स्वार्थका लागि कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याइएको भन्दै सरकारको विरोध भइरहेको छ।

राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ ढकालले अध्यादेशले अन्य विषयमा के कस्तो प्रभाव पार्छ कि भनेर राष्ट्रपतिले अध्ययन गर्ने बताए। कामचलाउ हैसियतको सरकारले दीर्घकालीन असर पर्ने गरी अध्यादेश ल्याएको भन्दै नेपाली काँग्रेसका नेताहरूले पनि विरोध जनाएका छन्।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर अध्यादेश जारी गरिएको बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्