शहरी आयोजनाको कार्यालयमा जोशी नेतृत्वको टोलीको डेलिगेशन

लोकपाटी न्यूज
6 Shares

चितवन। नारायणगढको शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचे चोकसम्म पुग्ने सडकको काम तत्काल अघि बढाउनको लागि नवनिर्वाचित बागमती प्रदेश सांसद उत्तम जोशी नेतृत्वको टोली डेलिगेशन गएको छ।

वर्षौंदेखि अलपत्र उक्त सडकको काम तत्काल सम्पन्न गर्न माग राख्दै जोशीको नेतृत्वमा स्थानीय टोल सुधार, उपभोक्ता समितिसहितको टोली आज (सोमबार) सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको कार्यालयमा डेलिगेशन गएको हो।

डेलिगेसन गएको टोलीले कार्यालय प्रमुख प्रकाश अर्यालसँग भेट गरेको छ। भेटको क्रममा सांसद जोशीले उक्त सडक निर्माणमा भएको ढिलासुस्तीको कारण सोधेका थिए। उनले अलपत्र सडक निर्माणको तत्काल काम अघि बढाउन कार्यालय प्रमुखको ध्यानाकर्षण समेत गराएका थिए।

कार्यालय प्रमुख अर्यालले सडक निर्माणको काम तत्काल सुरु गर्ने प्रतिवद्धता जनाएका छन्। पौष १३ गते भित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने उनको प्रतिवद्धता छ। धुलो उड्न नदिने गरी काम अघि बढाइने समेत उनले बताए। निर्माण कम्पनीले तत्काल काम सुरु नगरे कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने कार्यालय प्रमुख अर्यालको भनाइ छ। उपभोक्ताका तर्फबाट स्थानीय इन्दिरा सापकोटा सडौला र रेशम कँडेलले आफ्नो भनाइ राखेका थिए।

तीन किलो मिटर लामो उक्त सडक निर्माणका लागि २०७५ साल वैशाख २६ गते सघन शहरी तथा भवन निर्माण आयोजना चितवन र रमण शिव शक्ति जेभीबीच सम्झौता भएको थियो। सम्झौतामा २०७७ असार मसान्तसम्म सक्नुपर्ने भनिए पनि सडक निर्माणको काम अझै अलपत्र छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्