अध्यादेश तुहाउने षड्यन्त्र गरे सशक्त आन्दोलन गर्ने चेतावनी

लोकपाटी न्यूज
6 Shares

काठमाडौं। थारु कल्याणकारिणी सभा/थरुहट/थारुवान संयुक्त संघर्ष समितिले हालै सरकारले ल्याएको अध्यादेश संविधानसम्मत भएको भन्दै स्वागत गरेको छ। समितिले मुलुकी फौजदारी संहिता कार्यविधि सम्बन्धमा संविधानसम्मत ल्याएको अध्यादेश सकारात्मक एवं स्वागतयोग्य रहेको दाबी गरेको छ।

रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन गरेर समितिले उक्त अध्यादेशको समर्थन गर्दै स्वागत गरेको हो। र, राष्ट्रपतिबाट यथाशीघ्र प्रमाणीकरण गरिने संघर्ष समितिको विश्वास छ। पहिचान र अधिकारको लागि थारु कल्याणकारिणी सभा/थरुहट/थारुवान संयुक्त संघर्ष समितिको शान्तिपूर्ण आन्दोलनको क्रममा २०७२ भाद्र ७ गते भएको रहस्यमयी दुःखद टिकापुर घटनाको झुटा मुद्दा लगाइएका थारु नेता तथा कार्यकर्ताहरूको मुद्दा फिर्ता एवं बन्दीहरूलाई अविलम्ब रिहाइ गर्न पनि समितिको माग छ। समितिले अध्यादेशको पूर्ण समर्थन गर्दै सो को कार्यान्वयनको लागि माग गरेको छ। र, उक्त अध्यादेश कार्यान्वयन नभए सशक्त आन्दोलन गर्न बाध्य हुनेपनि समितिको चेतावनी छ।

समितिले अध्यादेशको पक्षमा विभिन्न सांकेतिक कार्यक्रमहरू प्नि आयोजना गर्ने भएको छ। समितिले भोलि बुधबार थरुहट/थारुवानको सबै जिल्लाहरूमा अध्यादेशको पक्षमा शान्तिपूर्ण जनपरिचालन तथा र्‍याली गर्ने भएको छ। त्यस्तै, भोलि बुधबार नै अपराह्न १ बजे काठमाडौंस्थित् माइतीघर मण्डलामा अध्यादेश कार्यान्वयनको पक्षमा धर्ना तथा जुलुस निकाल्ने भएको छ।

कार्यक्रममा थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट/थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले अधिकार प्राप्तको आन्दोलनको क्रममा थुप्रै थारुहरू निर्दोष हुँदाहुँदै पनि जेल जीवन बिताउन बाध्य भएको गुनासो पोखे। उनले आफूहरूले उक्त मुद्दा राजनीतिक मुद्दा भएकोले राजनीतिक तवरले समाधान गर्न आग्रह गरिएको सुनाए। उनले सरकारले अहिले ल्याएको अध्यादेश स्वागतयोग्य रहेको सुनाए।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुले पनि उक्त अध्यादेश राष्ट्रपतिबाट जस्ताको त्यस्तै यथाशक्य चाँडो जारी हुने विश्वास लिएका छन्। उनले नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने वा नजाने, सरकारलाई समर्थन वा नगर्ने विषय अध्यादेशसँग जोडिएको विषय नभएको पनि स्पष्ट पारे।

नेपाली काँग्रेसका नेता योगेन्द्र चौधरीले अहिलेको सरकारले त एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमतिलाई निरन्तरता दिएको स्मरण गराए। उनले अहिले संसद् नभएको बेलामा सरकारले अध्यादेश ल्याएको भन्दै आलोचना गर्नुपर्ने कुनै कारण नभएको स्पष्ट पारे। उनले अध्यादेश ल्याएर सरकारले र गठबन्धनका नेताहरूले अन्यायमा परेकाहरूको उद्धार गरेको भन्दै धन्यवाद दिए। उनले अहिलेको अध्यादेश तुहाउने षड्यन्त्र गरिए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी पनि दिए।

नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री सन्तकुमार थारुले पनि अध्यादेशको स्वागत गरे। उनले आन्दोलनको क्रममा टिकापुरमा दुःखद घटना घटेको स्मरण गराए। उनले तत्कालिन ओली नेतृत्वको सरकारले थारुहरूमाथि थुप्रै झुटा मुद्दा लगाएको आरोप लगाए। उनले झुटा मुद्दा खारेजी र जेलबन्दीहरुको रिहाइको लागि आफूहरूले संघर्ष र आन्दोलन गरेको स्मरण गराए।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामजनम चौधरीले थारुहरूले आफ्नो अधिकार र पहिचान स्थापित गराउनको लागि आन्दोलन गरेको स्मरण गराए। आन्दोलनको क्रममा सबै जातिले आफ्नो अधिकार संविधानमा लेखाउन लागिपरेको सुनाउँदै उनले भने,‘टिकापुर घटना दुर्भाग्यपूर्ण भयो। घट्नाको भोलिपल्ट राज्यले थारुहरूको घरमा आगो लगाउने काम गर्‍यो।’

उनले सरकारले अहिले ल्याएको अध्यादेशले विगतमा आन्दोलनको क्रममा लगाइएका मुद्दाहरूको सुरक्षित अवतरण गर्ने विश्वास दिलाए। उनले अध्यादेशलाई लिएर सकारात्मक र नकारात्मक रुपमा टीकाटिप्पणी भइरहेको सुनाए। एमाले अध्यक्ष केपी ओलीले पनि थारुहरूलाई अन्याय भएको भन्दै समस्या समाधान गर्ने भनेर हालैको निर्वाचनमा कैलालीमा पुगेर भाषण गरेको सुनाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्