काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताद्वय युवराज सफल र रविराज बर्तौलाले लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दायर गरेका हुन्।
रिटमा लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ। सो मुद्दाको किनारा नलाग्दासम्म लामिछानेलाई प्रतिनिधिसभा प्रवेशमा पनि रोक लगाउन रिटमा माग गरिएको छ। त्यस्तै, लामिछानेमाथि नागरिकता दुरुपयोगमा छानबिन हुनुपर्ने माग पनि गरिएको छ।
लामिछानेको नागरिकता विवादको विषयलाई लिएर रिट परेको हो। लामिछाने नेपाली नागरिक नभएकाले उनी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नै योग्य नभएको रिटमा दाबी गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट हटाउन र सांसद पद खारेज गर्न माग गरिएको छ।
संवैधानिक इजलासमा पेसी तोकिएको छ। पुस ६ गतेका लागि पेसी तोकिएको पौडेलले जानकारी दिए। मंसिर ४ गतेको निर्वाचनमा उनी चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभातर्फ निर्वाचित भएका थिए।