काठमाडौं। फिल्म ‘प्रसाद २’ को छायांकन आजदेखि सुरु भएको छ। माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहूर्त गर्दै छायांकन सुरु गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिए।
‘डेढ महिनाको सेड्युल तय गरेर छायांकन सुरु गरेका हौं। फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौं भने हिमाली सुन्दरता समेत कैद गर्दैछौं,’ प्रस्तुतकर्ता थापाले भने। फिल्ममा मुहूर्तको दृश्य मुख्य कलाकार विपिन कार्की र केकी अधिकारीले दिएका छन्। उनी दुई फिल्ममा श्रीमान् तथा श्रीमतीको भूमिकामा रहेका छन्।
एस.जी. फिल्म्स र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गर्दै छन्। निर्देशक थापाको निर्देशनमा तयार हुने फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतका कलाकारको अभिनय रहनेछ।
यसमा राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको ध्वनि, राजनराज सिवाकोटीको संगीत रहनेछ। फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन्। ‘प्रसाद’ हिट भएपछि यसको सिक्वेलका रूपमा ‘प्रसाद २’ को निर्माण हुन लागेको हो। लेखक पौडेलले फिल्मको कथा अभिनेता कार्की र अभिनेत्री अधिकारीमा केन्द्रित रहने बताए। ‘दुईको प्रेम र त्यसले निम्त्याउने संघर्षलाई फिल्ममा देखाइनेछ,’ लेखक पौडेलले भने।