छरिएर रहेका ऐन र कानुनलाई एकीकृत गर्ने काम शुरु गरिसकेका छौं : मन्त्री श्रेष्ठ

लोकपाटी न्यूज
6 Shares

काठमाडौ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्बन्धी छरिएर रहेका ऐन र कानुनहरूलाई एकीकृत गर्ने काम मन्त्रालयले गरिरहेको बताएकी छन्।

मन्त्रालयमा आज समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिन विमोचन गर्दै उनले भूमि तथा सहकारी सम्बन्धी छरिएर रहेका र पुराना कानुनहरूलाई समेटेर एकीकृत कानुन निर्माण गर्ने र समयानुकूल बनाउने काम मन्त्रालयले शुरु गरिसहेको बताइन्। उनले गुठी विधेयक ल्याउनका लागि तयारी गरिरहेको पनि जानकारी दिइन्।

नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै मन्त्री श्रेष्ठले सदस्य केन्द्रित सहकारी विकास गरेर जाने र समस्याग्रस्त सहकारीहरूको उचित व्यवस्थापन गरी आगामी दिनमा सहकारीहरूलाई समस्याग्रस्त बन्नै नदिने गरी काम भइरहेको बताइन्। उनले सहकारीहरू आफ्नो उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिँदै यस अनुरूप चलेको थुप्रै सहकारीहरूले राष्ट्रहित र जनहितको पक्षमा राम्रो काम गरिरहेको पनि बताइन्।

उनले भूमिको उचित प्रयोग गरी उत्पादन र उत्पादकत्व बढाएर सहकारीका माध्यमबाट रोजगारीको विकास गरी युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न सकिने भन्दै त्यस तर्फे सहकारीहरू लाग्नु पर्नेमा जोड समेत दिए। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले प्रचलनमा रहेका सहकारी सम्बन्धी ऐन र कानुनहरू पुराना भएकाले यसलाई समयानुकूल बनाउन आवश्यक रहेको औँल्याए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्