मौलिकतालाई जोगाउन महानगरले ध्यान दिनुपर्छ : मन्त्री चौधरी

लोकपाटी न्यूज
7 Shares

काठमाडौं। सहरी विकासमन्त्री मेटमणि चौधरीले विकासको काम गर्दा आधुनिकतालाई ध्यानमा राखी मौलिकतालाई जोगाउनु काठमाडौं महानगरपालिकाको पहिलो प्राथमिकतामा पर्नुपर्ने बताएका छन्। कामपाको २८औँ स्थापना दिवस मनाउने क्रममा आज मन्त्री चौधरीले काठमाडौं मौलिकता र ऐतिहासिक धर्म-संस्कृतिले धनी रहेकाले त्यसको संरक्षण गर्नु महानगरको पहिलो कर्तव्य रहनेमा जोड दिए।

उपत्यकामा लामो समयदेखि चुनौती बनेको फोहर र ढल व्यवस्थापन समस्याको दीर्घ समाधान गर्नुपर्ने भन्दै मन्त्री चौधरीले त्यसका लागि मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा कामपाका प्रमुख बालेन्द्र साहले संघ सरकार र अन्य स्थानीय तहको सहकार्यमा नागरिकले चाहना गरेअनुसारको काठमाडौं बनाउनेमा आफ्नो निरन्तर प्रयास रहने धारणा राखे।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाको समग्र विकासका लागि काठमाडौं र ललितपुर महानगर एकापसमा सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताए। काठमाडौं क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य सोविता गौतमले नागरिकको सफा र सुन्दर काठमाडौंमा बस्ने सपना साकार पार्नका लागि संघ र स्थानीय तहको सहकार्य आवश्यक रहेको औँल्याए।

कामपाले आफ्नो २८औँ वार्षिकोत्सव समारोह सप्ताहव्यापी कार्यक्रम गरी मनाएको हो। सोअन्तर्गत एकैदिन ८९ वटा सामुदायिक विद्यालयको सरसफाइ, नदी, विश्व सम्पदा क्षेत्र, खुला स्थानको सरसफाइ, चित्रकला/निबन्ध र वक्तृत्वकला प्रतियोगिताजस्ता कार्यक्रम गरिएको थियो।

विसं २०५२ मङ्सिर २९ गते तत्कालीन काठमाडौं नगरलाई महानगर घोषण गरेपछि हरेक वर्ष मङ्सिर २९ लाई महानगर दिवसका रूपमा मनाउने गरिएको हो। विसं १९७६ पुस २ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै २०५२ सङ्सिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको हो। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्