चिसो बढेपछि जनजीवन प्रभावित

hussu-sitlaha pic
सिरहाको लहान बजारमा शुक्रबार लागेको बाक्लो हुस्सु । तस्बिर : सुदीप राउत/रासस ।
लोकपाटी न्यूज
5 Shares

सर्लाही। सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्यांग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ। यस क्षेत्रमा बिहीबारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको हो। दुई दिनअघिसम्म बिहान, बेलुका र रातको समयमा चिसो भए पनि दिनभर पारिलो घाम लाग्ने गरेको थियो। तर, बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्यांग्रिँदो चिसो हुन थालेपछि मधेस प्रदेशको जनजीवन प्रभावित हुन थालेको छ।

चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा र दीर्गरोगी बढी प्रभावित भएका छन्। छाप्रामा बस्ने अतिविपन्न तथा मजदुर परिवार ताता खानेकुरा र न्यानो कपडाको अभावमा कठ्यांग्रिन थालेका छन्। चिसो बढेपछि विपन्न समुदायको बाहुल्यता रहेको बस्तीमा समस्या सुरु भएको स्थानीयवासी रामवली रायले बताए।

चिसो छल्न स्थानीयवासीले आगो बालेर ताप्न थालेका छन्। चोक– चौतारामा मानिसको जमघट बन्द भएको छ। कठ्यांग्रिँदो चिसोले विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ। मजदुर र किसानलाई नियमित काममा निस्कन गाह्रो परेको छ। बाक्लो मात्रामा हुस्सु लागेपछि गाउँलेले आगो बालेर ताप्न थालेको र पशुचौपायालाई पराल ओछ्याउने, बोरा ओढाउनेलगायत काम गर्न थालेका स्थानीयवासी विनय महतोले बताए।

चिसो बढिसकेकाले स्वास्थ्यको विशेष ख्याल गर्न प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख सुदीप काफ्लेले सुझाव दिए। उनले यो बेला झोलिलो र तातो खानेकुरा प्रशस्त खान, न्यानो कपडा लगाउन सुझाव दिए।

चिसोबाट टाउको दुख्ने, कोल्ड डायरिया हुने, छातीमा संक्रमण हुने, रुघाखोकी लाग्नेजस्ता स्वास्थ्य समस्या देखिने भएकाले चिसोबाट जोगिने उपाय अपनाउन चिकित्सक काफ्लेले सुझाव दिए। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्