सरकारको नेतृत्व अब प्रचण्डले गर्नुपर्छ : महासचिव गुरुङ

Deb_Gurung
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले चुनावको परिणामले दल र राज्य प्रणालीमाथि प्रश्न उठेको बताएका छन्। चुनावको परिणामले दलहरूबीच द्वन्द्व र अविश्वास बढाउन सक्ने भन्दै गुरुङले दलहरूबिच समझदारी आवश्यक रहेको बताए।

संवाद डबलीले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले दलहरूबिच आपसमा समझदारी नभए देश अफगानिस्तान र युक्रेनको बाटोमा जाने बताए। ‘अहिलेको चुनावले केही नयाँ संकेत गरेको छ, नयाँ दलहरूको मिसन र भिजन प्रष्ट भइसकेको छैन। उनीहरू कतातिरको बाटोमा हिँड्ने हुन् हेर्न बाँकी छ तर पनि प्रणालीमाथि केही प्रश्न उठेका छन्। दल र नेताहरूले गम्भीरतापूर्वक त्यसको जवाफ नदिए देश अफगानिस्तान र युक्रेन नहोला भन्न सकिँदैन,’ गुरुङले भने।

राष्ट्रिय स्वाधीनताको सवाल गम्भीर भएर आएको भन्दै उनले त्यसमा प्रतिवद्धताका आधारमा आफूहरूको सहकार्य हुने बताए। महासचिव गुरुङले देशको अभिभावक तथा अहिलेको परिवर्तनको संवाहक जनयुद्ध र जनआन्दोलनको नेतृत्वकर्ता दल र नेताहरू भएको बताए। उनले शान्ति प्रक्रियामार्फत अहिलेको अवस्थामा दलहरू पुगेको बताए।

उनले भने, ‘जनयुद्ध र जनआन्दोलनको नेतृत्वकर्ता दलहरू देशका अभिभावक हुन्। मुख्यगरि विचार र सिद्धान्त र अहिलेको परिवर्तनको हिसाबले माओवादी देशको अभिभावक हो। यो जिम्मेवारीबाट पछि हट्नु हुँदैन। शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता भएकोले प्रचण्डले अबको सरकारको नेतृत्व गर्नुपर्छ।’

विश्वमै कम्युनिस्ट आन्दोलन कमजोर भएको बेला नेपालमा त्यसको प्रभाव चुनावमा पनि देखिएको गुरुङले बताए। उनले आफूहरूले नयाँ परिस्थितिमा पार्टी निर्माण र जनतासँग जोडिने विषयमा कमजोरीका कारण चुनावको परिणाम आएको बताए। पार्टीले चुनावको गम्भीर समीक्षा गरेर अगाडि बढ्ने बताए।

एक अर्को प्रसंगमा गैर राजनीतिक पृष्ठभूमिबाट राष्ट्र प्रमुख बनाउन व्यवस्थाको विरुद्धमा हुने बताए। गुरुङले भने, ‘केही दिनयता सञ्चार माध्यमहरूमा गैरराजनीतिक पृष्ठभूमिको व्यक्तिलाई राष्ट्रपति बनाउने भन्ने हल्ला चलेको छ। यो यदि सत्य हो भने घुँडा टेकुवा प्रवृत्ति हो। यो अहिलेको व्यवस्थाबाट विचलन भएर निर्दलीय व्यवस्थामा जाने कुरा हो। यसलाई मान्न सकिँदैन। दलीय व्यवस्थामा देशको नेतृत्वकर्ता नेताहरू नै हुन्। उनीहरूको विकल्प खोज्नु घातक हुन्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्