सरकारको अनुहार हेरेर मेट्रो आउँदैन : चिरिबाबु महर्जन

Chiribabu_Maharjan
लोकपाटी न्यूज
10 Shares

काठमाडौं। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताएका छन्। शनिबार ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसका अवसरमा उनले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताएका हुन्।

मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्न नहुनेमा उनको तर्क थियो। उनले अब पनि मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनु भन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने बताए। मेट्रो रेलको विकल्प मोटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उपत्यकामा मेट्रोको विकल्प नै रहेको बताए। मेयर महर्जनले अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको बताए। उनले विलम्ब नगरी मेट्रोको आवश्यक तयारी गर्नुपर्नेमा जोड दिए।

मेट्रो रेलको लागि सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै उनले काठमाडौं र ललितपुर महानगरपालिका लगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाको राम्रो भूमिका यसमा हुनुपर्ने बताए। उनले विशेषगरी मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरले प्रमुख भूमिका खेल्नुपर्ने बताए। मेयर महर्जनले आफ्नो दोस्रो कार्यकालमा अझै बढी काम गरेर देखाउने दाबी गरे।

उनले भने, ‘काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प छँदै छैन। मेट्रो चलाउनै पर्छ। आज निर्णय गर्न सक्यौं भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ। मेट्रो ज्यादै महँगो छ रे भन्ने सुन्ने गरेको छु। सस्तो के त ? सस्तो पनि त हुनुपर्छ। अबको १५ वर्षपछि काठमाडौं उपत्यकाभित्रको जनसंख्या ६० लाख पुग्छ। यसको विकल्प के त ? यही मोटरसाइकल ल्याउने ? तसर्थ यो विकल्प किमार्थ हुन सक्दैन। यसको निमित्त हामीले मेट्रो नल्याईकन सुखै छैन। महँगो भयो भनेर वास्तै नगर्ने ? यो हुँदैन। कुनै पनि योजना बनाएर भए पनि मेट्रो ल्याउनै पर्छ। विलम्ब नगरी यो काम अघि बढाऔं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्