जनप्रतिनिधिद्वारा प्रधानाध्यापकमाथि कुटपिट

kutpit
प्रतीकात्मक तस्बिर
लोकपाटी न्यूज
8 Shares

कर्णाली। तिला गाउँपालिका-८ जुम्ला पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन्।

उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन्। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि चुनाव गर्ने विषयमा स्कुल नजिक पुग्दै गर्दा वडाध्यक्ष आँसेसहित उनका दुई छोरा तिलक र सागर (सुरज) बस्नेतले आक्रमण गरेको प्रधानाध्यापक बस्नेतले जानकारी दिए।

‘विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छान्नका लागि सातौं पटक बैठक बस्दा पनि सहमति हुन सकेन,’ प्रधानाध्यापक बस्नेतले भने, ‘उनीहरूले चुनाव गर्नै पर्छ भनेपछि शुक्रबार चुनावको तयारी थियो। तर वडाध्यक्षले मदिरापान गरेर ममाथि हातपात गरे र उनका दुई छोरा अझ बढी कुटपिट गरेका कारण घाइते भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भर्ना भएको छु।’

दायाँ छाती, टाउको, चिउँडो, आँखा, नाक, कान र दाँतमा चोट लागेको पीडितले बताए। प्रधानाध्यापक बस्नेतका अनुसार वडाध्यक्षको समूहले अस्थायी तथा करारमा रहेका शिक्षकलाई प्रधानाध्यापक बनाउन दबाब दिँदै आएका छन्। उनीहरूले गर्ने दादागिरीले आफूलाई गाउँमा बस्न सुरक्षा चुनौती भएको उनले दुखेसो गरे।

यता वडाध्यक्ष आँसे बस्नेतले झगडा हुँदा दुबैबिच हानाहान भएको र पछि आफ्नो छोरा तिलक र सागरले पनि हानेको स्वीकार गरे। उनले भने, ‘झगडा सामाजिक विषयमा भएको हो। अहिले व्यक्तिगतजस्तो भयो। जनप्रतिनिधिका हिसाबले नहुनुपर्ने भयो, गलत जस्तो भयो। अब मिलेर जाने प्रयास गरौँला।’

पीडितले अस्थायी/करार शिक्षकलाई प्रधानाध्यापक बनाउन चाहेको विषयमा भने वडाध्यक्ष बस्नेतले केही बोलेनन्। विद्यालय व्यवस्थापन समितिको चुनावका लागि गाउँपालिका शिक्षा शाखाबाट खटिएका प्रतिनिधि दीपेन्द्रबहादुर हमालले प्रधानाध्यापक र वडाध्यक्षको झगडा सकिएपछि मात्र त्यहाँ पुगेकाले आफूलाई कुनै जानकारी नभएको बताए।

यद्यपि प्रधानाध्यापक घाइते भएर स्वास्थ्य विज्ञानमा उपचाररत अवस्थामा रहेको सुनिएको उनले जनाए। शुक्रबार भएको विवादका कारण उक्त विद्यालयको चुनाव स्थगन भएको छ। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्