गोरखा। मंसिर २४ गते चम्पावती हाइड्रोपावर आयोजनामाथि तोडफोड र आगजनी हुँदा ३३ करोड ४० लाखको क्षति भएको संचालक समितिले जनाएको छ। आयोजनाले प्रेस विज्ञप्ति जारी गर्दै आयोजना निर्माण स्थलमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन माग समेत गरेको हो।
भौतिक संरचनामा मात्र ३ करोड ४० लाखको क्षति भएको चम्पावती हाइड्रोपावरका अध्यक्ष डा.हरिराम पराजुलीले जानकारी दिए। आयोजना निर्माणको ढिलाईले पनि थप क्षति भएको उनले बताए। साथै, घट्नाको छानबिन एवं कानुनी कार्वाहीका लागि प्रक्रिया सुरु भएको उनले बताए। समस्या समाधानका लागि प्रवद्र्धक कम्पनीका तर्फबाट राइनास सिंचाई योजना सहितका सरोकारवाला निकायहरुसँग संवाद सुरु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
आयोजनाले स्वीकृत डीपीआर र आइईई अनुसार काम भइरहेको र यसले राइनास नहरमा कुनै असर नपर्ने दावी गरेको छ। गएको शनिबार चम्पादेवी हाइड्रोपावर लिमिटेडको प्रवर्द्धनमा लमजुङ र गोरखा जिल्लामा निर्माणाधीन सात मेगावाट क्षमताको चेपे ‘ए’ जलविद्युत् आयोजनाको साइट अफिस तथा पावरहाउसमा राइनासटार सिंचाइ आयोजनाको मुहान नै प्रभावित पर्ने गरि आयोजना निर्माण गरेको भन्दै प्रभावित स्थानीयले हाइड्रो तोडफोड गरेका थिए।