जग्गा प्राप्तिका लागि गठित समितिले बुझायो प्रतिवेदन

लोकपाटी न्यूज
5 Shares

विराटनगर। प्रदेश- १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि गठित समितिका संयोजक आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले आज मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाएका छन्।

मन्त्री कार्कीले मुख्यमन्त्रीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदन बुझाउने क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरकुमार गिरी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईको पनि उपस्थिति थियो।

गत वर्षको माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश- १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापन गर्न भनेर आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले यस अवधिमा सार्वजनिक सूचना प्रकाशित गरी आवश्यक जग्गाको माग गरेको थियो। सोअनुरूप विभिन्न स्थानबाट जग्गा दिने प्रतिबद्धता प्राप्त भएको कार्यदलका संयोजक एवं आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले बताए।

मन्त्री कार्कीको संयोजकत्वमा गठित कार्यदलमा विराटनगर, कटहरी, ग्रामथान, बूढीगंगा, दुहवी, इटहरी र सुन्दरहरैंचा नगरपालिकाहरूका प्रमुखहरू सदस्य रहेका थिए। त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव उक्त कार्यदलको सदस्य सचिव हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्