सत्ता गठबन्धनभित्र सात पदमा गाँठो

gathbandhan_
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले मुलुकमा नयाँ जनादेश पाएको छ। निर्वाचन आयोगले २८ मंसिरमा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेर राष्टपति विद्यादेवी भण्डारीलाई अन्तिम प्रतिवेदन बुझाएसँगै सरकार गठनको वैधानिक बाटो खुलिसकेको छ। तर, सत्ताको नेतृत्वमा रहेका राजनीतिक दल राष्ट्रपति, प्रधानमन्त्री हुँदै सभामुखसम्मका पदको रस्साकस्सीमा लाग्दा सरकार गठन अन्योलमा छ।

सत्ता गठबन्धनको नेतृत्व गरेको दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडानमा छ। कांग्रेस राष्टपति पनि आफैं लिनेगरी अघि बढिरहेको छ। वर्तमान प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्ने प्रयासमा छन्।

कांग्रेस प्रतिनिधिसभामा ८९ सिट जित्दै पहिलो दल बनेको छ। गठबन्धनकै अर्को घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि प्रधानमन्त्री आफैं हुनुपर्ने भन्दै भेटघाटमा छन्। उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भएको भेटमासमेत प्रधानमन्त्री पदमा चाहना राखेको स्रोतले जनाएको छ।

यस्तै, दाहालले पार्टीका दोस्रो तहका नेतालाई पनि माओवादीकै नेतृत्वमा सरकार गठन हुनुपर्ने भन्दै संवादमा खटाएका छन्। सोही सिलसिलामा केही दिनअघि माओवादी केन्द्रका नेता देव गुरुङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए। गठबन्धनभित्र पदमा भागबन्डा गर्दा राष्टपतिदेखि प्रधानमन्त्री हुँदै सभामुखसम्ममा रस्साकस्सी छ। कांग्रेसले सरकारको नेतृत्व र राष्ट्रपति दुवै चाहेको छ। अब बन्ने सरकारको नेतृत्व दुई वर्ष कांग्रेसले गर्ने र त्यसपछि माओवादी केन्द्रलाई दिन कांग्रेस तयार छ।

माओवादी केन्द्र भने कांग्रेसको सो आशयप्रति सहमत देखिएको छैन। सो दलले सरकारको नेतृत्व आफूले पाए मात्र राष्ट्रपति छाड्न तयार छ। सोही कारण सरकार गठनको गाँठो गठबन्धनमै अड्किएको छ।संविधानअनुसार नेपालमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षसहित सात पद केन्द्रमा शक्तिशाली छन्। यिनै पदमा सत्ता गठबन्धनभित्र रस्साकस्सी छ। यो समाचार राजधानी दैनिकमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्